[ Current Affairs ]

कोरोना भाईरस र बाल मनोविज्ञान

स्मृति सापकोटा

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलनुले विश्वभरकै जनजीवन अझ कष्टकर बन्दै गैरहेको छ । हाम्रो छिमेकी राष्ट्र चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको यो भाइरस आज विश्वभरी नै फैलिएको छ । यसले हालसम्म पौने तीन लाख भन्दा बढी मान्छेले ज्यान गुमाइसकेका छन् भने लाखौँ यसको शिकार भएका छन् । दिनानुदिन हजारौं नयाँ बिरामी थपिने क्रम जारी नै छ । भू-मण्डलीकारण र सामाजिक संजाल आजभोली कोरोना भाइरस सम्बन्धी देश विदेशका विभिन्न प्रकारका जानकारीहरु सामाजिक संजालमा होस् या टेलिभिजन, रेडियो आदि जस्ता संचार माध्यमबाट सम्प्रेषण हुने गरेका छन् । हुन पनि हो, यस भाइरसको आतंक विश्वभरी नै मौलाएको र यसका कारणले पूरै विश्वमा नै त्रास उत्पन्न भएको आंकलन गर्न सकिन्छ । अहिलेको भू-मण्डलिकरणको दुनियाँमा कुनै न कुनै माध्यमद्वारा हामीले विश्व परिवेशको जानकारी पाउनु आवश्यक पनि छ । यस सन्दर्भमा हेर्ने हो भने, यी संचार माध्यमको योगदान उल्लेखनीय देखिन्छ ।

अंग्रेजीमा एउटा भनाई छ “Prevention is better than cure” । यसैगरी नेपालमा पनि यो रोग फैलिनु भन्दा अगाडी देखिनै यी संचारमाध्यम द्वारा विभिन्न सन्देश एवं जनचेतनामुलक समाचारहरु प्रवाह भएको हामी सबैलाई विधितै छ । तर, यत्तिकैमा यस्ता संचारमाध्यमबाट विश्वभर भैरहेको कोरोनाको प्रकोप, देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको चित्रण गरेर प्रवाह गरिएका संचार सामग्री यसो हेर्दा उमेर पुगेका व्यक्तिलाई केन्द्रित गरेर बनाइएको पाइन्छ । हुन त कोरोना भाइरससम्बन्धी जानकारी राख्नु अहिलेको अवस्थामा आफुँ यसबाट जोगिन र यसबारे नयाँ जानकारी लिन आवश्यक छ तर सामाजिक संजालमा यसबारे चाहिनेभन्दा बढी समाचारको सम्प्रेषण हुनु, टेलिभिजनदेखि रेडियोसम्म कोरोनाको बारेमा नै चर्चा परिचर्चा हुनाले एक वयस्क व्यक्तिको त मनोविज्ञानलाई त्रशित बनाइदिन्छ भने झन् बालबालिकाको मनोविज्ञानमा कस्तो असर परेको होला भन्ने कुरा हामी अन्दाज मात्र पनि गर्न सक्छौं । रोगले ग्रस्त भएका बिरामीहरुको कहालीलाग्दो शारीरिक अवस्था, मृत्युबरण गर्दै गरेको क्षण, भेन्टिलेटर वा स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउने स्थानको दृश्य तथा मृत्यु भइसकेका व्यक्तिहरुको दाहसंस्कार गरिंदै गरेको कष्टपूर्ण र हृदयविदारक दृश्यलाई कैद गरी सामाजिक संजालमार्फत सम्प्रेषण गर्दा त्यसको असर अनुकूल हुन्छ कि प्रतिकूल हुन्छ भन्ने कुरामा हेक्का नराखी आत्मपरक निर्णयले सुचना सम्प्रेषण तथा संचारको अधिकारलाई सुनिश्चित गर्छ कि कुठाराघात गर्छ ? यसको जवाफ तेती सहज छैन तर पनि यसलाई छलफलको विषय बनाउनु पर्ला । यसर्थ, यस्तो अवस्थामा यसको कहरले विश्वको आर्थिक, सामाजिक, राजनीतिक पक्षलाई मात्र असर नगरी आम जनमानसको मानसिक पक्षमा पनि गम्भीर आघात पुर्याएको छ । लकडाउन र बाल मनोविज्ञान यस भाइरसको प्रकोपबाट जनतालाई सुरक्षित गर्न विश्वभरि नै थुप्रै देशहरुले पूर्ण तथा आंशिक लकडाउन जारी गरेकाले सामाजिक दूरी कायम गर्ने सिद्धान्तले जन्म लिएको छ। लकडाउनका कारणले शैक्षिक क्षेत्रमा पनि ठुलो असर पारेको छ । सेभ द चिल्ड्रेनद्वारा हालसालै गरिएको एक सर्भेका अनुसार १.३ बिलियन भन्दा बढी बालबालिकाहरुको पठनपाठनमा पनि असर पुगेको छ । पठनपाठन मात्र नभई सामाजिक रूपमा नै उनीहरुलाई ठुलो आघात पुगेको देखिन्छ । सेभ द चिल्ड्रेनको मानसिक स्वास्थ्य एवं मनोसामाजिक सहायता एकाइका वरिष्ट बाल संरक्षण सल्लाहकार एनी सोफी दिब्दलका अनुसार प्रायजसो बाहिर जाने, घुमफिर गर्ने मानिसहरुको दिमागको केहि सानो भागमात्र लगातारको नकारात्मक सोचाईतर्फ एकीकृत हुन्छ र अहिलेको अवस्थामा बाहिर त्यति रमाउन नपाएका कारण बालबालिकामा नकारात्मक सोच त्यसकारण मौलाउन सक्ने खतरा बढी हुन सक्छ । यसर्थमा हरेक समय घरमा बसेको बेलामा कोरोना भाइरस सम्बन्धी समाचारको नै चर्चा हुनु, बाहिरी दुनियामा घुलमिल हुन नपाइने अवस्थाको सिर्जना हुनु, आफ्ना साथीभाई एवं मनपरेका व्यक्तिबाट टाढा रहनु, आफ्नो घरमा बढ्दो गरिवीको अवस्था र यतिमात्र नभई सामाजिक दुरी कायम गर्नाले निम्त्याएका अरु समस्या जस्तै; एक्लोपन, अल्छीपाना र तनाव आदिले गर्दा बालबालिकामा मानसिक समस्या देखा पर्न सक्ने खतरा रहन्छ । बालबालिकामा मौलाएको खराब प्रवृत्ति चैत्र ११ गतेदेखि नेपालमा लकडाउन सुरू भएपश्चात् बालबालिकाको स्कूल बन्द भएको अवस्था छ । हाम्रो शिक्षण प्रणाली हुन त सिर्जनशीलतामा भन्दापनि औपचारिकतामा विश्वास गर्छ र यस मनोवृत्तिको सिधा असर बालबालिकाको मनोविज्ञानमा समेत परिसकेको हामी महसुस गर्न सक्छौं । अरु समयमा पनि स्कूल बिदा भएको बेलामा सिर्जनशील काममा लाग्नु भन्दा आवश्यकताभन्दा बढी मनोरन्जनात्मक गतिविधिमा बालबालिकाहरु सामेल भएको देखिन्थ्यो । अहिले पनि धेरै बालबालिकामा लकडाउन सुरू भएको यत्तिका दिन हुँदासमेत पनि यो प्रवृत्ति हटेको भने देखिंदैन । अल्छिपनाको बाहानाले प्राय बालबालिका मोबाइलमा नै झुम्मिने प्रवृत्ति बढ्दो अवस्थामा छ । यसैगरी सामाजिक दूरी कायम गर्ने सन्दर्भमा पनि बालबालिका घरमा नै पनि आफ्ना आमा बाबु, सबैसित टाढिने अवस्थामा पुगिसकेका छन् । मोबाइल, एवं सामाजिक संजालको प्रयोग पनि नयाँ कुरा जान्न भन्दा पनि सस्तो मनोरन्जनात्मक गतिविधिमा प्रयोग गर्नाले बालबालिकाको सिर्जन्शिलातामा ह्रास पुगेको छ । यसैगरी एक्लै मोबाइलमा गेम खेलेर हुन्छ वा सामाजिक संजालमा अल्झेर हुन्छ प्रायजसो बालबालिका आफ्नै परिवारमा पनि घुलमिल हुन चाहेको पाइंदैन । यसले उनीहरुको सिर्जनशीलताको पनि हरण गरिरहेको छ भने असामाजिक पनि बनाइरहेको छ । सिर्जनशील क्रियाकलापले किताबी अध्ययन अध्यापनलाई मात्र समेट्दैन । जीवन उपयोगी शीप सिक्ने सिकाउने जुनसुकै गतिविधि सिर्जनशील हुन सक्छन । बाल बालिकाको सन्दर्भमा पनि कुनै ज्ञानवर्द्धक फिल्म हेर्नु, सामाजिक संजालमा पनि राम्रा राम्रा समाचार पढ्नु, कुनै उपन्यास पढ्नु, आफुंलाई रचनाहरु मन परेमा कथा कविता लेख्नु, आदि पनि सिर्जनशील हुने क्रियाकलाप हुन् ।

निष्कर्ष यसैगरी नेपालीमा एउटा उखान छ; “खालि दिमाग शैतानको घर” । यो उखान यस विषयमा सान्दर्भिक देखिन्छ । कोरोनाको माहामारीको स्थिति नेपालमा मात्र हैन विश्वभरी नै रहेको छ । यसो भन्नुको तात्पर्य भनेको नेपालका जनता मात्र हैन पूरै संसारभरका मानिस यस माहामारिका कारणले प्रभावित छन् । त्यसकारण अहिलेको अवस्था एकदमै कठिन छ । तर यस्तो अवस्थामा यदि हामीले आफुंलाई कुनै कुरामा अल्झाएनौ भने हामीलाई झन् नकारात्मक मानसिक प्रभाव पर्ने हुन्छ र बालबालिकामा यसको असर अझै बढी छ । यसकारण अभिभावकको पनि यसर्थमा थुप्रै जिम्मेवारी रहेका छन् । आफ्ना बालबालिकालाई सिर्जनात्मक क्रियाकलाप गर्न प्रेरणा दिने, आफ्नो काम सक्नलाई र उनीहरुलाई भुल्याउनका लागि मोबाइल नदिने, उनीहरुलाई घरायसी काम सिकाउने आदि गर्नाले पनि उनीहरुमा नकारात्मक मनोसामाजिक असर देखा नपर्न सक्छ ।