[ Literature ][ Society ]

प्राविधिक सहयोगी

गरीमा भट्टराई

“कोरोना महामारी !’ कसैले नसुनेको महामारी ! हुन त पहिला स्पानिस फ्लू, हैजा, ब्ल्याक डेढ, इबोला जस्ता महामारी पनि सुन्नमा नआएका त होइनन् तर यस्तो घरमै बस्नुपर्ने, लकडाउनको सामना गर्नुपर्ने महामारी मेरो जीवनको पहिलो घटना हो ।

म एउटी शिक्षककी छोरी हुँ । शिक्षकका छोरा छोरीको अरु पेशा गर्नेको छोराछोरीको भन्दा फरक पारिवारीक वातावरण हुन्छ भन्ने मैले आफ्नै परिवार, आफ्ना गुरुका परिवार, आफन्त र साथी जसका बाबु आमा शिक्षक शिक्षिका हुनुहुन्छ, उहाँहरूबाट देखेकी छुँ । गुरुको अवधारणा विभिन्न किताबबाट ज्ञान लिने, सबैलाई सत्कर्म सिकाउने, कर्म गर्ने फलको आशा नगर्ने भन्ने रहेको पाइन्छ ।

बाबा हामीलाई सानै देखि भन्ने गर्नुहुन्छ – “न चौरहार्यम् न च राजहार्यम्, न भ्रातृभाज्यं न च भारकारि । व्यये कृते वर्धत एवं नित्य, विद्याधनं सर्वधनप्रधानम् ।। (अर्थात ः न चोरद्वारा विद्या चोरिन सक्छ, न यसलाई राजाले नै हरण गर्न सक्छन्, विद्या दाजुभाइमा पनि बाढ्नु पर्दैन, न यसको कुनै तौल हुन्छ । जति हामीले ज्ञान बाढ्यौँ, त्यति यो हामीमा बढ्छ । विद्या धनहरूमा प्रधान धन हो ।) तिमीहरू सधैँ पढिरहनुपर्छ । सधैँ विद्या आर्जन गरिरहनुपर्छ ।” हामीलाई किताब पढिरहन प्रेरणा दिइरहनुहुन्थ्यो र अझैँ पनि दिइरहनुहुन्छ ।

साधारण जीवन उच्च विचार भनि सोच्ने मेरा बाबाले किताबलाई आफू सानै हुँदा देखि मिल्ने साथी बनाउनुभएको थियो रे ! बाबाका अनुसार जति धेरै किताब पढियो, त्यति मानिस विद्वान बन्छ । उस प्रतिको अरु मानिसको दृष्टिकोण पनि फरक हुन्छ । किताबी ज्ञान र व्यवहारिक ज्ञानले मानिसको जीवनमा सुख, सम्बृद्धि र सम्पतिले कहिले पनि छोड्दैनन् भन्ने बाबाको मान्यता रहेको छ ।

हामी प्रविधिमैत्री युगका हौँ भने बाबाले पढ्दा खेरि प्राविधिक ज्ञान अपनाउने चलन थिएन । त्यसैले बाबामा प्रविधि थोरै मात्रामा चलाउन जाने पनि पुग्छ भन्ने मान्यता रहेको थियो । प्रविधिमा बढि आकर्षित भइयो भने आफूमा धेरै नै नकारात्मक असर देखिन सक्छ भन्ने उहाँमा परेको छाप हो । उहाँमा मात्र होइन, उहाँका युगका धेरै शिक्षक शिक्षिकालाई प्रविधि भनेको बोकाको मुखमा कुबिन्डो जस्तो भएको छ । यो सोच हुनुमा उहाँहरूको अलिकति पनि गल्ती छैन । उहाँहरूलाई न त कहिले प्रविधिमा रहेर पढ्नुपर्यो‌, न पढाउनुप‌‌र्यो, न त यसको फाइदा के हो, कसरी प्रविधि प्रयोग गरेर विद्यार्थीलाई पढाउने भनि तालिम दिने काम भयो ।

म भने जीवनमा किताबी ज्ञान र व्यवहारिक ज्ञान मात्र नभएर, प्राविधिक ज्ञानको पनि उत्तिकै महत्व हुन्छ भनि सोच राख्‍ने युगकी हुँ । प्रविधिका आफ्नै सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । हामीले किताबबाट सिमित ज्ञान पाउन सकिन्छ भने प्रविधि मार्फत् भान्सा, स्वास्थ्य, जीवनशैली, देश, विदेश, ब्रम्हण्ड सबैका बारेमा जानकारी लिन सक्छौँ । किताबमा भएका पाठ पनि इन्टरनेटद्वारा निकै सहज र छिट्टै बुझ्न सकिन्छ । सामाजिक सञ्जालबाट आफ्ना लेख, प्रतिभा सबैलाई पठाउन सकिन्छ । अरुको प्रतिभा हेर्न पाइन्छ । तर त्यसैमा बढि आकर्षित हुने, व्यवहारिकता तर्फ विचार नगर्ने, परिवारबाट टाढा हुने कुरा भने यसका नकारात्मक पक्ष भए । हामीले यसैमा मात्र आफ्नो समय व्यतित गर्ने, परिवारलाई वास्ता नगर्ने लगायतका नकारात्मक पक्षलाई भन्दा सिमित समयसम्म राम्रा राम्रा कुरालाई मात्र जोड दिई यसका सकारात्मक पक्षलाई अगाँल्दै जानुपर्छ ।

कोरोनाले धेरै मानिसलाई चुनौतीमा अवसर खोज्न सिकाएको छ । यसबाट बाबा जस्ता गुरुहरूले प्राविधिक ज्ञान पनि शिक्षण संस्थामा निकै उपयोगी हुन्छ भनेर थाहा पाउनु भएको छ । हामी जस्ता युवाले चलाइरहेका विभिन्न प्रविधि हामी भन्दा अघिल्लो पुस्ताले पनि अब विस्तारै सिक्दै र यसमा घुलमिल बन्दै गएको देख्न थालेकी छु ।

मेरो लकडाउनको समय बाबालाई मलाई थाहा भएका प्राविधिक ज्ञान सिकाउने, इन्टरनेटका फाइदा बताउने जस्ता कुरामा नै बितिरहेको छ । कोरोनाले विभिन्न मानिसको जीवन लिइसकेको बेला बाबा जस्ता शिक्षकलाई भने यो समय प्रविधिमैत्री बन्ने अवसर मिलेको छ । आमासँग भान्सामा काम गर्न त छदैँ छ, अहिले यो कार्यले सधैँ व्यस्त हुने मेरा बाबासँग अझै बढि नजिकिने मौका मिलेको छ । बाआमाले छोराछोरीले विभिन्न ज्ञान हासिल गर्दा खुसी हुन्छन् भन्ने कुरा नभोगेपनि सुनेकी छु, तर बाआमालाई आफूले जानेका नयाँ कुरा सिकाउँदा र उहाँहरूको “स्याबास” पाउँदा साच्चै नै गौरवान्वित भएको महसुस चाहिँ गरेँ ।

अहिले केही छोरा छोरी म जस्तै आफ्ना बाआमाका प्राविधिक सहयोगी भएका छन् । मैले त्यो अनुभवलाई लेखमा ढाल्ने प्रयास गरेँ । तर कतिपय यस्ता छोराछोरी पनि छन् जसले आफ्ना बाआमा भन्दा आफ्ना साथी भाइ वा अन्य वस्तुलाई बढि प्राथमिकता दिन्छन् । सबैको आफ्नो आफ्नो ठाउँमा महत्व त होला तर बाआमा र उहाँहरूको आशिर्वाद जतिका महत्वपूर्ण कोही पनि हुँदैनन् र केही पनि हुँदैन भनेर विभिन्न ग्रन्थहरूमा पनि लेखिएकाृे छ । त्यसैले आमालाई पनि सहयोग गर्दै संस्कृतको श्लोक पितरि प्रीतिमापन्ने सर्वा ः प्रीयन्ति देवता ः । (बुबा खुसी हुनुभएमा सम्पूर्ण देवता खुसी हुनुहुन्छ ।) भन्ने आत्मसाथ गर्दै बाबालाई आफ्नो तर्फबाट खुसी दिने कार्य गर्न लकडाउनले मलाई मौका जुराएको छ ।