[ Uncategorized ]

नेपाल कहीले आत्मनिर्भर बन्छ ?

सत्य नारायण महर्जन 

अहिले केही दिन यता नेपालमा विशेष गरी दुइ कुराहरुको निकै चर्चा छन्। एउटा त दुई महिना देखि भोगी आएको लक डाउन बस्नको वाध्यता मूल कारण कोरोना भाइरसको प्रसङ्ग हो । अर्को भनेको लिपुलेखको कुरा जुन भारतले सिमा अतिक्रमण गरेको कुरालाई लिएर सिंगो देश तातिरहेको अवस्था छ । कोरोनाको विषयमा नेपाललाई नौलो कुरो भएन किनकि यो विश्व माहामारीको रुपमा फैलिरहेको रोग नेपाल पनि भित्रिसकेको थियो । तर हाल को अवस्थामा भने व्यापक रुपमा कोरोन संक्रमित को संख्या बढ्दै गएपछि फेरी पनि त्रासको अवस्था सिर्जना भएको छ । झन्डै–झन्डै तिन सयको हाराहारीमा कोरोना संक्रमित पुगी सकेका छन्। त्यसले गर्दा सरकारलाई लक् डाउन केहि खुकोलो बनाउन खोज्दै गरेको अवस्थामा फेरी पनि लक् डाउन कडाईका साथ लागु गर्न वाध्यता बनाएको छ ।

त्यस्तै अर्को विषय जुन सनसनी वहसको विषय बन्दै आई रहेको कुरा भने लिपुलेख सिमानामा नेपाल र भारतको विवादको कुरा हो । सिमा विषय पनि खासमा नौलो विषय भने होइन तर जुन विवादको लागि उठ्ने मूल कारण छ त्यो भने नौलो नभई उठ्दैन। गत मङ्सिर महिनामा नै भारतले लिपुलेखलाइ आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा आफ्नो भूमिअन्तर्गत पर्ने उतराखण्ड भित्र समेट्दै नक्सा सार्वजनिक गरेको थियो। त्यो बेलामा नै एकपटक सबै नेपालीहरुले यस विषयको विरुद्ध उठेका थिए। सरकारले केही काम गरे जस्तो गर्न खोजेको जस्तो देखिएको थियो ।

विभिन्न विज्ञ र विदहरुले आफ्ना विचारहरु राखे । विभिन्न उपायहरु लिएर ठुला ठुला अन्तर्वाता समेत दिए तर सरकारले भने केही गर्न सकेन। त्यस पश्चात कोरोनाको विषय ठुलो रुपमा आयो जसले गर्दा यो विषयलाई सेलाउदै लग्यो। कोरोनाका कारण लक डाउन भईरहेकै अवस्थामा फेरी पनि भारतले अर्को नयाँ कार्य गर्यो जसका कारण फेरी अहिले सारा नेपालीहरुले अवाज उठाउन बाध्य भएका छन्। भारतले यस्तो संकटकालको घडीको मौका छोपी विवादित रहेको सिमानामा नेपाललाई पत्तो नै नदिई सडक निर्माणको कार्य अघि बढाएको छ । यो कुरा भारतको रक्षा मन्त्रिद्वारा उद्घाटन गरिएको भिडियो सार्वजनिक भए संगै नेपालमा यसको चर्को विरोध सुरु भएको हो।

यसले नेपालको राष्ट्रियता,स्वामित्व र सार्वभौम सत्तामा नै ठुलो प्रश्न उठाएको छ । यस विषयलाई लिएर संसदहरुले चर्को विरोध गरे । परराष्ट्र मन्त्रि प्रदीप ज्ञवालीले यसकोे जवाफमा नेपाललाई यी सब कुराको ज्ञात भएको र पटक पटक कुटनीतिक पहल गरीरहेको कुरा समेत उठाए जसका कारण सरकारले भारतलाई कुटनीतिक पत्र समेत पठाएको छ । तर यी सब कुरा हुँदा समेत माननीय प्रधान मन्त्रिले जवाफ दिँदा आफुलाई उक्त कुराको केहि रिपोर्टिंक नभएको र थाहा नभएको कुरा गर्दा निकै नै दुःख लाग्दो कुरा रहेको छ ।

यी सबै हुँदा पनि नेपालले केही गर्न नसक्नु प्रमुख कारण भनेको नेपाल आफु आत्म निर्भर वन्न नसक्नु नै हो । नेपाल भौगोलिक आधारमा उत्तरमा अग्ला हिमाल र दक्षिणमा तराईको समथर भु–बनावटमा रहेको छ । हाम्रो देश जुन प्राकृतिक रुपमा निकै धनी राष्ट्र रहेको छ । उत्तरमा चिन र पूर्व, पश्चिम र दक्षिण दिशामा भने भारतसंग हाम्रो सिमाना जोडिएका छन्। यसका कारण नेपाल दुइ ठुला शक्ति बिचको देश समुद्र विहिन देश हो । त्यसै कारण हाम्रो देश प्राय जसो सबै चिज भारतमा निर्भर हुनु पर्ने वाध्यता रहेको छ ।

सबै भन्दा सस्तो यातायात भनेको नै समुद्री यात्रा हो जुन नेपालसंग सोझै त्यसको पहुँच छैन। त्यसैले पनि नेपाल भारतसँग निर्भर पर्नु वाध्यता बनेको छ । अर्को छिमेकी राष्ट्र चिनबाट पनि सामान ढुवानी गर्न नसकिने होइन तर भौगोलिक आधारमा उत्तर पट्टि चिन पर्दछ र सोहि क्षेत्रमा विश्वका अग्ला–अग्ला हिम श्रृखला पर्दछन् ,जसले गर्दा त्यो दिशाबाट सामान ल्याउन निकै कठिन तथा खर्चिलो रहेको छ । हवाई माध्यम बाट सहज हुने जुन निकै नै खर्चिलो पर्ने हुँदा सजिलो माध्यम भनेको भारतबाट सामान आयात गर्नु नै उचित हुने हुँदा नेपाल भारतमा निर्भर पर्नु वाध्यता रहेको छ ।
यस्तो अवस्थामा नेपालको यदि सरकार बलियो हुने हो भने मात्र छिमेकी राष्ट्रसंग सोहि अनुरुप अघि बढ्न सकिन्छ तर जब सरकार नै अस्थिर छ र हरेक कुराको निर्णय लिनको निम्ति भारतको आदेशलाई पर्खिनु पर्ने अवस्था आउँदा पनि नेपालमाथि भारतले आफ्नो हेपाहा प्रवृति गर्ने गरेको छ। जो कुनै पनि नयाँ प्रधान मन्त्रि सर्वप्रथम भारत भ्रमणमा नै जाने गर्दछन ।

२०७२ साल असोज ३ गते नेपालले नयाँ संविधान स्थापित गर्दा पनि भारतले त्यसमा आफ्नो आपत्ति जनाएको थियो। त्यति मात्र नभई सोहि सालमा ठुलो विनासकारी भुकम्पको सामना गर्दा पनि भारतले नेपालमाथि अघोषित नाका बन्दि गरेको थियो। यस्तो तुच्छ प्रवृतिको छिमेकी राष्ट्रसँग नेपालको साइनो गाँसिएको छ । त्यही रुप फेरी पनि भारतले यस्तो संकटकै घडीको मौका छोपी फेरी अर्को कार्य अघि बढेको छ जसले एउटा असल छिमेकी नभई सिनो को खोजीमा रहको गिद्ध प्रवृति देखाउन खोजेको छ । यति भन्दा भारत मात्र नराम्रो छिमेकी र चिन असल छिमेकी भन्ने चाहिँ होइन। चिन पनि वास्तवमा असल देखिने छिमेकी हो तर नेपालले चीनलाई पूर्ण रुपमा भरोषा गर्न सक्ने छिमेकी भने पक्कै पनि होइन ।

यस्तो दुई ठुला शक्ति बीच रहेको राष्ट्र नेपाल सँधै यस्ता चपेटामा पर्दै आएको छ । राजा पृथिवीनारायण शाहाले भन्नु भएको दुई ठुला ढुंगा बिचको तरुल को प्रसङ्ग निकै मेल खान जान्छ । यसै सन्दर्भमा यदी इतिहास हेर्ने भने नेपालको चिनसंग नुन देखि सुन सम्मको साइनो रहेको इतिहास छ । विशेष गरी तिबत्तसंग नेपालको परापुर्व कालदेखि नै व्यापारको सम्बन्ध रहँदै आएको छ जुन अहिले सम्म पनि उत्तिकै कायम नै छ । कति उत्तर भेगमा पर्ने नेपालका गाउँ वस्तीहरु अझै पनि चिनबाट सामान आयात गरि जीविका चलाउने गर्दछन। त्यस्तै भारतसंग भने नेपालको रोटी र वेटीको साईनो जोडिएको छ ।
हाम्रो अति आवश्यक कुराहरुनै बाहिरबाट निर्यात गर्ने गरेका छौँ। खाने चामल देखि तरकारी फल फुल सबै भारत बाट आउने गरेको छ । लगाउने लुगा कपडा चिन र भारत बाट नै आउछ र आवासको निम्ति चाहिने सामग्री पनि सबै बाहिर बाट नै आउने गर्दछ । यस्तो अवस्थामा के नेपाल साँची नै यदी बाहिरबाट सामान आयात नगर्ने हो भने नटिकने अवस्थामा छ त ? के नेपाल पूर्ण रुपमा नै अरु देशमा निर्भर हुन्छ त ?

इतिहासलाइ नै हेर्ने हो भने नेपाल कोसैको सामु नझुकेको राष्ट्र बिर गोर्खाली को रगत भएको राष्ट्र भनेर चिनिने गर्दछ । नेपाल इतिहासमा एउटा शक्तिशाली देशको रुपमा चिने राष्ट्र थियो। दक्षिण एसियामा नेपाल नै सबै भन्दा शक्तिशाली राष्ट्रको रुपमा रहेको थियो। त्यस्ती बेला सम्म भारत, भारत बनि सकेको थिएन र त्यस लगत्तै बनेका पाकिस्तान, बंगलादेशहरु त पछि जन्मेका देश हुन्। त्यति बेला नेपालले आफ्नो माग सबै आफ्नै देशबाट परिपूर्ति गर्द थियो। गाँस, बास कपास सबै नेपाल आफैँ पुर्याउन सकेको थियो। पछिल्ल समय राणा कालमा भने नेपाल भारतमा रहेको वेलायती इस्ट इन्डिया कम्पनिसँग जोडिन पुग्यो जसका कारण नेपाल बिस्तारै बिस्तारै दमनमा पर्न सुरु भयो। यसले गर्दा नेपाल करिब १०४ वर्ष नै विकासमा पछाडी पर्यो।

त्यस पछि २००७ सालमा राणाको पतन भए संगै त्रिभुवन सत्तामा फर्के लगत्तै प्रजातन्त्रको अनुभव नेपालले पायो जसबाट नै भारतको प्रभाव नेपाल माथि सुरु हुँदै गयो। त्यस पश्चात नै नेपालमा राजनैतिक पार्टीहरु को जन्म हुन थाल्यो तर २०१९ सालमा फेरी राजा महेन्द्र सत्तामा आए र उनले भारतमा निर्भर हुनु भन्दा पनि विकासका कार्य धमाधम अघि बढाए जसका कारण विभिन्न राजमार्ग र कलकारखानाहरुको स्थापना भयो।

यसले गर्दा सबै राजनैतिक पार्टीहरुमा बन्देज लगाइएको थियो तर फेरी पछिल्लो समयमा आएर राजा विरेन्द्र को पालामा २०४७ सालमा ठुलो जना आन्दोलन बाट पुन पार्टीहरु स्थापना भए र सो भए संगै नेपालको इतिहासमा २०५१ सालबाट जन युद्ध सुरु भयो।

करिब एक दशक लामो युद्ध २०६२र ६३ सालमा आएर राजा लाई विस्थापित गरि शान्तिको बाटोमा लाग्ने प्रतिबद्धता साथ माओवादी सत्तामा आयो। यसरी हेर्दा नेपाल धेरै कठीन परिस्थितिबाट गुज्रेर अहिले को नेपाल बनेको छ । यो वर्तमान नेपाललाइ त्यो बेलाको नेपाल जव भारत को जन्म समेत भएको थिएन , त्यतिखेरको नेपाल संग दाज्ने हो भने पनि लाजमर्दो स्थितिमा पुगेको छ । तसर्थ यी सबै परिवर्तनमा नेपाल माथि भारतको ठुलो हात रहेको छ चाहे त्यो नेपालको निम्ति विकास को नाममा होस् यात भारतको आफ्नो लुकेको स्वार्थ होस, भारतको प्रभावलाई इतिहासमा यसरी परेको देखिन्छ ।

नेपाल कृषिमा निर्भर राष्ट्र हो जसमा करिब ६० प्रतिशत भन्दा बढी मानिस अझै कृषिमा नै संलग्न छन्। नेपालको भूगोल र प्राकृतिक बनावटले पनि नेपालमा कृषि योग्य जमिनको रुपमा रहेको छ । जल श्रोतको पनि धनी राष्ट्रको रुपमा नेपाल चिनिने गर्दछ । तर यही देशमा भने कृषिलाई जति हेपिने पेशा अरु खासै नहोलान।

अहिले मानिसहरु खेतमा काम गर्नु भनेको लाज लाग्ने जस्तो कुराका रुपमा लिने गर्दछन।पढेर पनि हिलो छुनु माटो छुनु जतिको बेइजत समाजमा अहिले मान्ने गरेका छन, तर विदेशीहरु त्यही हिलो खेल्न र रमाउन नेपालमा प्राय जसो असारमा धान रोपाइँको मौका छोपेर आउने गर्दछन। यसरी कृषिलाई हेपिने राष्ट्रले कसरी विकास गर्न सक्छ त ? तरकारी फलफुल सबै भारत बाट आयात हुन्छन जसका कारण नेपालको आफ्नै कृषकहरुले उत्पादन गरेका फलफुल, तरकारी विक्री हुँदैनन् तसर्थ अनि भारतकै सामानमा निर्भर भए पछि कृषकहरु पनि यो पेशा लाइ छोड्न वाध्य हुन्छन् , तब बिकास त नेपालमा हुँदै हुँदैन।

नेपालका आदि जसो युवा युवती विदेशिएका छन् । कोही खाडीमा काम गर्दै छन् त कोही गाडी लिई हिंडिरहेका छन्। उनीहरुले नै पठाएको पैसाबाट नेपालको आधा जसो आर्थिक भार सम्हालिन्दै आएको छ । दिन दिनै हजारौँको संख्यामा नेपालका श्रमिकहरु विदेशिने गरेका छन्। त्यसमा पनि सबै भन्दा सहजरुपमा जाने भनेको भारत नै जहाँ भिसा वा पासपोर्ट केहि चाहिदैन। यस्तो अवस्थामा नेपालले विकास गर्ला भन्नु कल्पना गर्नु वा सपना देख्नु जस्तो मात्र हो।

जब यसरी सबै युवा युवती आफ्नो देश छाडी विदेशिने गर्दछन भने नेपालमा कोसले काम गर्छ र विकास हुन्छ ? त्यसपछि नेपालमा कुनै कुराको उत्पादन नै हुँदैन र नेपाल अरु देशमा निर्भर हुन दिन प्रति दिन वाध्य हुन गइरहेको छ । यसले गर्दा नेपाल लगभग एउटा जुम्रा वा जुकाको संघियतामा पुगिसकेको छ जो अरुको रगतको भरमा मात्र बाच्ने गर्दछ ।

अहिलेको सरकारले कम नगरेको होइन केहि मात्रामा काम गरेको पनि छ । सामाजिक सुरक्षाको कुरा देखि लिएर विभिन्न बाटोहरुको निर्माण यही सरकारकै पालामा भई रहेका छन् । यस्तै विभिन्न विकासका क्रमहरु अघि बढिरहेका पनि छन् । ठुला ठुला जलविद्युत आयोजना, पनि जाहजको थालनी पनि यही सरकारको पालामा भएका कार्य मध्य पर्ने सफलताहरु हुन्।

तर जति जे कामहरु सरकारले गर्दै आएको छ ति पनि आफ्नो पूर्ण निर्णय र कार्यका साथ गर्न सकि रहेको अवस्था छैन। यस्तो अवस्थामा विपक्षी दलले पनि सोही अनुरुपको कार्यहरु गर्नका निम्ति कुनै खास दवाव दिन सकिरहेको छैन। जुन किसिम ले सरकारलाई आफ्नो कार्य गर्नबाट चुकी रहँदा झकझकाउन सक्ने क्षमता विपक्षीसंग हुनु पर्ने हो त्यो क्षमता अहिले प्रतिपक्ष दलसँग पनि देखिदैन ।

यसरी हेर्दा एकचोटी फेरी इतिहासलाई हेर्ने हो भने यी सत्तारुढ दल होस या त विपक्षी नै सबैको जरा भारतसंगै जोडिएको देखिन्छ जसका कारण उनीहरुले सोहि किसिमका कार्यहरु गर्नमा कसैको प्रभावमा परे जस्तो गरि आनाकानी गर्दै आइरहेका छन्।

केहि समय अगाडी आएको ओबिओआर (OBOR) को प्रसङ्ग पनि हेर्ने हो भने चिनले आफ्नो व्यापारिक स्वार्थका निम्ति ल्याएको प्रस्ताव हो जसमा नेपालले आफ्नो हस्ताक्षर गरि सकेको छ तर त्यसको भोलिका दिनमा के कस्तो परिणाम आउन सक्ला भन्ने कुराको कुनै अध्ययन गरिएको छैन। रेशमी बाटोको कुरालाई अघि बढाएर हिंडेको चिनले नेपाललाइ सो कुरामा गाँसिसकेको छ । त्यस्तै एम सी सी (MCC) को प्रसङ्ग पनि नेपालमा चर्चित विषय हो जसमा नेपाल अझै पनि अध्ययनको अवस्थामा छ जुन कुरा अमेरिका लगायत भारतले यस कुरामा सहमति जनाउन दिन दिनै नेपाललाई दवाब दिंदै आएको छ। यस्तो किसिमको दवाब र चपेटामा नेपाल दुइ छिमेकि राष्ट्रको बिचमा च्यापिन पुगेको छ जसको मूल कारण भनेको नै नेपाल आत्मा निर्भर हुन नसक्नु को कारण हो।

नेपाल अझै पनि विदेशी अनुदान र सहयोग को भरमा बस्ने गरेको छ, कुनै आपत विपत आएमा सर्वप्रथम कुन देश ले कति रकम पठाउला,कति सहयोग गर्ला भन्ने आशामा बसको छ। प्राय मानिस भन्दा छिटो पैसा कौमाउने सोचमा सबै जग्गा किन बेचको काममा लागी परेका छन्। स्वदेशी सामान हरुलाई बजार सम्म लैजाने र त्यसको बजार बिकास तिर अहिले देखि सोच्न जरुरि छ। सबै जान अहिले आधुनिकता तिर ढल्किने प्रयासमा आफ्ना संस्कृति र आफ्नो उत्पादन शक्तिहरु बिर्सदै छन्।
आफ्नो बुबा हजुरबुबाले गरेको कामलाई अप्नाउन नचाहे पनि स्वदेशमै केही गरम भन्ने कोसैको सोच सायदै अहिलेको युवाहरुमा होला। नेपालको हातले बुनेको गलैंचा, याकको उन, जडिबुटी जस्ता चिजहरुको अझै पनि विदेशमा ठुलो माग छ।

यी कुराहरु यदी ध्यानमा राखेर नेपाल स्वदेशी कुराहरुको उत्थान तर्फ लाग्ने हो भने मात्र आत्मनिर्भर तर्फ लम्किन सक्छ। सबै नेपाली मानिसले आरामदायी जिन्दगि जिउने बानीलाई बिर्सेर उत्पादन र स्वदेशी लगानीमा ध्यान पुर्याउने हो भने सायद नेपाल आत्मनिर्भर हुन सक्ला जसका कारण अरुको मुख हेरी रहनु पर्ने अवस्था नआउन सक्छ।

यसरी समग्रमा हेर्दा अहिले अवस्था र जुन तातिएको माहोल छ यो सबै भनेको नै नेपाल आफु दमनमा पर्न थालेको महसुस भएर हो। नेपालका मन्त्रि, नेता, कार्यकर्ता सबैले आफ्नो काम र दायित्व यदि कुनै पार्टीको आदर्शमा नभई सिंगो देशको निम्ति देशभक्तिलाइ सम्झी अघि बढेमा अझै पनि ढिला भएको छैन। कुनै राम्रो कम को सुरुवात गर्न कहिल्यै ढिला हुँदैन। उता भारतले त सडकको उद्घाटन गर्यो, यता हामि नेपाली ले यसरी सोचेर अघि बढ्ने हो भने हामी नेपालीलाइ “नयाँ नेपाल“ बनाउन पनि सकिन्छ । नेपाललाई जसरी दुई ढुंगा बीच को तरुल भनेर भन्ने गरिन्छ, त्यसलाई परिणत गरेर नेपाल दुइ शक्तिको बिचको पुल भनेर बुझ्न जरुरि छ । यस्ता कुरा खालि चिया गफमा मात्र सिमित नभई वास्तमा नै यदि अपनाउने हो भने सायद नेपाल आत्मा निर्भर बन्न धेरै समय लाग्ने छैन।