[ Literature ][ Society ][ Uncategorized ]

भुइँ मान्छे

बिनोद खत्री “मिलन”

बि.ए.एल.एल.बि चौथो वर्ष

म त भुइँ मान्छे,
कौडिको भाउको ताइ न तुइ मान्छे
उ सँग पुँजि छ, शक्ति छ, शान छ, उ सर्वोच्च हो,
म, मोल नभएको हजारौँ मध्येको एक दुइ मान्छे ।

उसको पछिना टिस्युँ ले पुछिन्छ, मेरो उहि अमीलो कमिजको फेरले
उसको आँशु मोति बराबर हो, मेरो बग्दछ मुल्यबिहिन खेरले
भोक उसको शोख हो, अनि मेरो चाहिँ शोक
म जोखी जोखी चामलको गेडो निल्दछु, उ पुलउ फ्याँक्दछ धेरैले ।।

म दिनरात नभनेर श्रम बेच्दछु, उ त्यसको पैसा बनाउँछ
म उहि जाबो ठहरिन्छु, उ आँफुलाइ मालीक जनाउँछ
मेरो कहाँ तकदिर छ र, शावर लिइर ए.सि.मा बस्‍ने
उसैको निम्ति खिइएको हड्डि मनपर्ने उसलाइ, मेरो शरिर गनाउँछ ।।।

नङ्ग्रा खियाएको छु, तर पनि जयजयकार बिना गुजारा चल्दैन
श्रमको मुल्य हैन, उसको दया बिना साँझबिहान चुलो बल्दैन
म बोल्न सक्दिन, म जस्ता भुइँमान्छे उसँग कति छन् कति
म एउटाको प्राँण ढले पनि के भो’त, उ शक्तिको प्रतिक हो कदापी ढल्दैन ।।।।

म एक पात्र हुँ दुःख बेच्‍न आउँछु जान्छु, तिमि शक्ति हौ जुग जुग बाँचिरहनु
म चुपचाप चुपचाप तिम्रो काँध थापिरहन्छु, तिमी हालिमुहाली नाचिरहनु
म त एक गोटि न हुँ तिमी जता हान्छौ उतै गुड्किन्छू
दुखे मलाइ नै दुख्छ आँशु मै झारौँला, तिमी त दाता हौ सदासदा हाँसीरहनु।।।।।