[ Literature ][ Society ][ Uncategorized ]

किन ?

उमेश चौधरी

स्तब्ध किन छौ ?
मन खोलेर बोल
लाखौं आवाजले दबाउन खोज्लान
अन्तर्निहित तिम्रा सुस्केरालाई बटोल।

भयावह किन छौ ?
भयभित्रको साहसलाई उकास
सुर्यको तापले चिर्दै छ अन्धकारलाई
नहोउ यति शिघ्र हतास ।

यति निराश किन छौ ?
आशाको बिउलाई सिंचाउ
सक्छौ काडेदार बाटोलाई त्याग
अझ सक्छौ त्यसमा मखमल बिछाउ ।

अल्छी किन गर्छौ ?
शरीरलाई उर्जाको कणले भर
आलस्यताको बादललाई चिरी
भविष्य निर्माणको अग्रपंक्तिमा सर ।

एक्लोपन किन महशुस गर्छौ ?
हातेमालो गर्ने ती हितलाई पुकार
पथ कठिन छ निश्चय नै विकासको
परिश्रम गर, वास्तविकतालाई स्वीकार ।

घमन्ड के को गर्छौ ?
वास्तविक सामर्थ्य र कमजोरीलाई पहिचान
के नै छ र विलासीपन, स्वार्थ परिपुर्तिमा
असल धन त केवल हो सद्बुद्धि र ज्ञान ।

सङ्कीर्ण सोच किन राख्छौ ?
उड खुल्ला आकाशमा चराजस्तो पङ्ख फिजाई
असल नियत राखी सत्कर्म गर
ईतिहास निर्माण गर, शत्रु समेतलाइ रिझाई ।