[ Society ][ Uncategorized ]

बसन्तपुरको गल्लीमा बस्‍ने घरवार विहिनको केही शब्द

कुशल दुवाडी

यी गल्लीको एउटा कुनामा
बसेर पाइलट चुरोट
सल्काउदै गर्दा
मानिसको भिन्‍नता देख्छु
व्यपारीको व्यस्तता देख्छु
भरियाको आलस्यता देख्छु
कसैको सरलता देख्छु
सबै यो गल्लीबाट देख्छु
देख्‍न खोज्छु यी सब दृश्य
सुन्‍न खोज्छु यी सब चीत्कार
बुझ्‍न खोज्छु यी सब पीडा
पढ्न खोज्छु यी सब दुख
तर म आफै असक्षम भैसके
यहाका मानिसका द्वेषले म निर्दयी भैसके
यहाका मानिसका सोचले म घृणित भैसके
यहाका मानिसका विचारले म दुखित भैसके
हो यो त्यही गल्ली हो।

हो यो त्यही गल्ली हो
जहाँ मलाइ दुई छाक खान
कसैले दिएन
हो यो त्यही गल्ली हो
जहाँ मलाइ दुई दिन बाँस
कसैले दिएन
हो यो त्यही गल्ली हो
जहाँ मलाइ दुई धर्को लुगा
कसैले दिएन
हो यो त्यही गल्ली हो।

हो यो त्यही गल्ली हो
जहाका मानिसलाइ
मैले बुझ्‍न सकिन
हो यो त्यही गल्ली हो
जहाका मानिसहरुलाइ हेर्दा
मुटु विहिन भएको पाए
हो यो त्यही गल्ली हो
जहाका मानिसहरुलाइ सुन्दा
आवाज विहिन भएको पाए
हो यो त्यही गल्ली हो
जहाका मानिसहरुलाइ बुझ्दा
विचारहिन भएको पाए
हो यो त्यही गल्ली हो।।

हो यो त्यही गल्ली हो
जहाँ मानिस
बाचेको नाटक गरि मरिरहेका छन
हो यो त्यही गल्ली हो
जहाँ मानिस
हासेको नाटक गरि रोइरहेका छन
हो यो त्यही गल्ली हो
जहाँ मानिस
सम्बन्ध गासेको नाटक गरि तोडिरहेका छन
हो यो त्यही गल्ली हो ।

हो यो त्यही गल्ली हो
जहाँ कसैले फालेको
खानाले कसैको पेट भरिन्छ
हो यो त्यही गल्ली हो
जहाँ कसैले फालेको
लुगाले कसैको आङ छोपिन्छ
हो यो त्यही गल्ली हो
जहाँ कसैले जुठो हालेको
पानीले कसैको प्यास मेटिन्छ
हो यो त्यही गल्ली हो।