
गीता दाहाल
पुरुषत्व
म घरकी एक्ली छोरी। हैन ! एक्ली अनि जेठी छोरी।
म जन्मिएको समय छरछिमेकमा कतै छोरी जन्मिएनछन् (पाउने सबैले छोरा पाएछन्)। त्यसैले होला, सानैबाट मेरा केटा साथी थिए। म जन्मिएको दिनदेखि नै समाजले दुई छोरी मान्छेको कुरा सिक्ने बाटो पाएको थियो।
– गाउँभरिकाले पहिलो सन्तान छोरा पाए, यसले छोरी पाएर अलच्छिन भित्याई। यो पहिले मेरी आमालाई।
– केटी भएर केटासँग हाँस्दै हिँड्छे डुल्छे, कस्ती उत्ताउली ? अनि यो मलाई।
बाबुआमाले पहिलो सन्तानलाई दिने लाड-प्यारले होला, म असाध्यै पुल्पुलिएकी छोरी थिएँ।
म चार वर्षको हुँदा मेरो जेठो भाइ जन्मियो। चार वर्षसम्म मनपरीले चुस्ने ती आमाका दूध अब एक्कासि भाइका भएका थिए। तर बिस्तारै घरको शून्य आँगनमा साथी पाएकाले ती दूधको भन्दा भाइको बढी माया लाग्न थालेको थियो। म आठ वर्षको हुँदा मेरो कान्छो भाइ जन्मियो। उसलाई आमाको रगतसँगै पहिलो पल्ट काखमा मैले नै राखेकी थिएँ। वल्तिरपल्तिरकाले ‘दुई दुइटा भाइ पाइस्’ भन्दा मक्ख पर्थें म। उतिबेला त्यो बोलीले तँ त छोरी होस्, तेरो महत्व ऊ जत्तिको छैन भन्दै होच्याएको बुझ्न सकिनँ। बुझूँ पनि किन !
घरभित्र कुनै पनि कुरामा भाइहरू भन्दा मलाई कमी थिएन। अझ भन्ने हो भने उनीहरू मर्कामा पर्थे, म जेठी भएर।
घरमा कामकै चापले होला, भाइ र मबीच लैंगिक विभेद थिएन। भाइहरू सानै थिए, घरको बारी जोत्दा बाबाको लिड्कोमा उभिने, बारी खन्नेदेखि आमासँग पूजा गर्न बत्ती कात्नेसम्मका काम सबै भ्याउँथेँ, म। केटी र छोरी भएकै कारण गर्न नसक्ने काम त्यस्तो केही थिएन।
भाइहरूको उमेर बढ्दै गयो। बिस्तारै आफूभन्दा ठूला, अग्ला र बलिया हुँदै आए। उनीहरू परिवर्तन भए तर घरमा आमा बाबाले उनीहरूलाई गर्ने व्यवहार भने परिवर्तन भएन। पहिले उनीहरू सानै छँदा खाएको थाल राम्ररी माझ्न सक्दैनन् भन्ने लाग्थ्यो। खाएको ठाउँबाट जुरुक्क उठेर जान्थेँ, म। उनीहरूको जुठो थालसमेत उठाई सबै भाँडा माझ्थेँ।
– तर आजकाल मेराभन्दा ठूला हात भएका, मभन्दा धेरै खान सक्ने बलिया भएका मेरा भाइहरू त्यो आफ्नो जुठो थाल माझ भनेपछि मात्र किन माझ्छन् ?
– अझै पनि किन आमाले केही नबोली उनीहरूका लुगा धोइदिनुहुन्छ ?
– किन बिहानै उठेर घर सफा गर्ने काम मलाई मात्रै सिकाइन्छ ?
– किन साँझ म भान्छा पस्नुपर्छ अनि उनीहरू बाहिर बेफिक्री डुल्छन् ?
– किन मभन्दा गह्रुँगो फरुवा उचाल्न सक्ने मेरा भाइ फुटबल खेल्न जान्छन् अनि मैले सानो कोदालो समात्दै आमाको पछाडि लागी बारी खन्नुपर्छ ?
त्रुटि अंश हकमा हैन, यिनै व्यवहारमा यहीँ कतै छ।
यस्ता प्रश्न अचेल मनमा निकै खेल्छन्। यद्यपि म यस्ता कुरामा आफूलाई अन्याय भएको अथवा आफू छोरी भई पीडित भएको ठान्दिनँ। यी सबै काम गरिरहँदा मलाई आफू अझ जिम्मेवार भएजस्तो लाग्छ। आमालाई भान्छाभित्र सघाउँदा मलाई आफू छोरी हैन असल सन्तान भएको महसुस हुन्छ। चाहेको भए म पनि साँझ, दिउँसभरि काम गरी थाकेकी आमालाई एक्लै भान्छामा छाडी डुल्न निस्किन्थेँ होला।
तर म त्यसरी फर्किंदा मेरा लागि घरको ढोका खोलिन्न, इज्जतका प्रश्न सोधिन्छन्, तिमीलाई सोधिन्नन् सायद तिमी र मबीच त्यहीँनिर भिन्नता छ।
छोरा भएकैले यो समाजमा सुअवसर पाएका मेरा भाइलगायतका अन्य दाजुभाइप्रति पनि मेरो केही गुनासो छैन। बस्, घरपरिवारले तिमीलाई तिमी छोरा भएकै कारण दिएको महत्व र सुअवसरका कारण समाजमा जान्नैपर्ने सिक्नैपर्ने कुराबाट बेखबर चाहिँ नबन्नू। यो ठूलो घाटा हो। यसले तिमीलाई छोरो बनाउला। असल सन्तान र व्यक्ति भने पक्कै पनि बनाउँदैन।
आफूले लगाउने लुगा धुन श्रीमती चाहिए कमजोर को ?
तिम्रो अल्लारेपनको लापरबाहीले नोक्सानी कसलाई ?
आफूले खाने खाना बनाउन नजाने घाटा कसलाई ?
मैले यहाँ नारीलाई सबै गर्न सक्ने, पुरुषभन्दा शक्तिशाली हुन् भनी देखाउन खोजेको होइन। न त ती पुरुषलाई अंकित गरेकी हुँ, जो पितृसत्तात्मक समाजका रोगी छैनन्।
समाजमा जति पनि महिलाहिंसा र अपराध हुन्छ, त्यस्ता हिंसा महिला कमजोर भएर होइन, हिंसा गर्ने पुरुष स्वयं बुद्धिहीन, अज्ञानी र कमजोर भएर हो। हामीले पितृसत्तात्मक समाज भन्दै आज पुरुषलाई उसले पाएको लिंगकै आधारमा उसलाई बलवान् र महान् ठान्ने क्रममा उसमा रहेका वा हुनुपर्ने सबै मूल्यमान्यता लुछी खुकुलो पारेका छौं। पुरुषमा पुरुषत्व रोप्ने क्रममा उसमा रहेको मानवता उखेलिरहेका छौं।
अझै पनि किन आमाले केही नबोली उनीहरूका लुगा धोइदिनुहुन्छ ? किन बिहानै उठेर घर सफा गर्ने काम मलाई मात्रै सिकाइन्छ ? किन साँझ म भान्छा पस्नुपर्छ अनि उनीहरू बाहिर बेफिक्री डुल्छन् ?
बलात्कारकै मुद्दा लिऊँ, पुरुष यस्तो अपराधमा किन मुछिन्छ ? सामान्य रुपमा कि बुझीबुझी ? कि ऊ किशोर अवस्थामा शरीरमा आउने परिवर्तन बुझ्न नसकी गर्छ ?
पुरुष उसमा रोपिएको पुरुषत्वको नकारात्मक प्रभावका कारण लाज, इज्जत, मानवताबारे खुकुलो हुन्छ। त्यस्तो कार्य गरेकै कारण आफू अपहेलित हुनु परेको ऊ बुझ्दैन, बुझ्नै सक्दैन। उसलाई आफ्नो जीवनकै माया लाग्दैन। त्यसैले त ऊ जन्मकैद हुने सजाय देख्दादेख्दै पनि त्यसो गर्छ।
०००
उसले पनि छोरी मान्छेले जस्तै किशोर अवस्थामा आफूमा परिवर्तन देख्छ। तर जन्मिएको केही दिनमा छोरोले अञ्जानमा आफ्नो लिंग छुँदा ‘ऊ छोराको जात देखाइहाल्यो’ भन्दै खिलिली हाँस्ने समाजले उसलाई पुरुषत्वको त्यस्तो कठघरामा बन्द गरेको छ जहाँ ऊ आफ्नो लिंगमा आएको परिवर्तन त्यही ठाउँमा म्वाइँ खाँदै हुर्काएकी आमालाई समेत सुनाउँदैन, सोध्न अक्मकाउँछ र सक्दैन।
बुझ्ने दाजु, साथीभाइ भएकालाई पनि सेयर गरिहाल्न अप्ठ्यारो लाग्छ। आफ्नो शरीरमा विभिन्न हर्मोनका कारणले आएको लैंगिक परिवर्तन र ती परिवर्तनसँगै उम्रिने इच्छा कसरी नियन्त्रण गर्ने थाहा नपाई ऊ बलात्कारजस्ता अपराधमा मोलिन्छ। अपराध भइसकेपछि मात्र उसलाई त्यो गल्ती लाग्छ। त्यति बेला न गल्ती सुधार्न सकिन्छ, न त गुमाएको इज्जत नै फिर्ता पाइन्छ।
पितृसत्तात्मक समाजले ल्याएका थुप्रै सामाजिक रोगका मुख्य दुइटा कारण छन् :
क) पुरुषलाई उसको लिंग मात्र हेरेर समाजमा मनोवृत्ति बढाइदिनु, सर्वशक्तिमान बनाउनु।
– अर्थात् पुरुषलाई ऊ पुरुष भएकै कारण निर्धक्क बन्न सिकाउने। ऊ त्यो हो भनेर सम्मोहित गर्ने जो ऊ छँदै छैन, हुनै चाहन्न। उसलाई पुरुषत्वको नाममा समाजमा जान्नैपर्ने, बुझ्नैपर्ने कुरा सिक्न बन्देज गर्ने, आँखामा पट्टी बाँध्न अनि मनमा ढुंगा राख्न मजबुर बनाउने।
ख) पितृसत्तात्मक मूल्यमान्यता ल्याई महिलाको आत्मबल घटाउनु, पीडित बनाउनु।
आज नारीवादका नारा लगाउँदै हामीले महिला अधिकार कानुनमै ल्याई कार्यान्वयनसमेत गरी महिलालाई औपचारिक रूपमा समान बनाइसकेका छौं। यसले रोगीको उपचार गरिरहेको छ, च्वाट्टै निको भएको छैन तर निको हुँदैछ।
तर पहिलो कारणतर्फ कसैको ध्यान जान सकेन। यसका कारण आज आमाको काखमा रुन सक्ने छोरो उसकी जीवनसंगिनीका सामु आँसु खसाल्न हिचकिचाउँछ। आफ्नी गर्लफ्रेन्डलाई महिनावारी हुँदा कति ब्लिडिङ हुन्छ, कहाँनिर दुख्छ, कुन प्याड प्रयोग गर्छिन्सम्म थाहा हुने दाजुलाई आँगनमा सँगै हुर्किएकी बहिनी महिनावारी भएको थाहा पाउन गाह्रो पर्छ, उसलाई आफैं सोध्न असहज महसुस हुन्छ।
आफूले जीवनमा खोजेको सुख अनि के चाहन्छु भन्ने कुरा बिर्सिएर ऊ आफ्नी श्रीमती र घरपरिवारको इच्छा पूरा गर्ने जिम्मेवारी काँधमा बोक्न पुग्छ। ऊ खुलेर रुन पाउँदैन, खुलेर डराउन पाउँदैन। योभन्दा ठूलो जिन्दगीभरको मजबुरी के हुन्छ ? योभन्दा ठूलो पीडित को हुन्छ ? यी सबै पितृसत्तात्मक समाजका रोग हुन्, जो अझै पनि नेपाली समाजमा पुरुषत्वको नाउँमा हुर्किरहेकै छन्।
महिला अधिकारका लागि महिलालगायत पुरुषले पनि हातेमालो गर्दै आवाज उठाए। तर पुरुषत्वको नाममा सीमित रहनु परेका ती सबै खुकुलो मर्दांगिनी च्यापेर बसेका अज्ञानी तर निर्दोष पुरुषका लागि भने कतैबाट आवाज उठेन। आवाज उठोस् पनि कसरी ? जो वास्तवमा पीडित हुन्, उनीहरूलाई त अझै पनि लाग्छ- उनीहरू मर्द हुन्, मर्दलाई कसैले हेप्न सक्दैन।
तर सोचौं न, त्यो मर्दांगिनी कस्तो मर्दांगिनी ? जो आफ्ना व्यवहारले आफूले लगाएको कट्टु खसाल्दा सरम मान्दैन, जो आफ्नै बहिनीको योनीमा औंला घुसाउँदा काम्दैन, जो कुनै निर्दोष नारीमाथि एसिड खन्याउँदा आफू नामर्द र डरपोक भएको ठान्दैन, आफ्नी नातिनीलाई समेत बलात्कार गर्दा आफूमा मानवता हराएको देख्दैन। यस्ता थुप्रै उदाहरण छन् जहाँ महिला पीडित त हुन्छिन् नै तर आत्मसम्मान गुमाएर जिन्दगीभर पीडित पुरुष बनेको हुन्छ।
त्यसैले अब महिला कमजोर छन्, महिलालाई विशेष आरक्षण दिइनुपर्छ, अनि मात्र महिला हिंसाबाट जोगिन्छिन् भन्ने होइन; यसमा पुरुषको विकासलाई पनि उत्तिकै महत्वपूर्ण विषयका रूपमा अगाडि बढाउन आवश्यक छ। किनभने महिला हिंसा कम गराउन हामीले महिलालाई जति नै शिक्षित बनाउन खोजांै, जस्तोसुकै आत्मरक्षाको तालिम दिऊँ, परिवर्तन त्यति बेलासम्म आउँदैन जबसम्म हिंसा गर्ने व्यक्तिको सोच बदलिँदैन। महिलाका प्रयासले हिंसा कुनै हदसम्म कम त होला तर हिंसाको जरो उखेल्न पुरुष स्वयं पनि परिवर्तन हुनुपर्छ।
कुनै पनि रोगीलाई उपचार गर्दा सो रोग लगाउने भाइरसलाई रोगीको शरीरबाट मार्न आवश्यक छ। त्यसैगरी पुरुषद्वारा हुने महिला हिंसाको मुख्य भाइरस हो, पितृसत्तात्मक मानसिकता अनि पुरुषत्व अँगालेका मूल्यमान्यता। यी कुराको उपचार गर्न आवश्यक छ जो ज्ञानले मात्र गर्न सक्छ।
नेपाली समाजमा हुर्केका महिलालाई जस्तै पुरुषलाई पनि ज्ञानको आवश्यकता छ। पुरुषत्वको नाममा उनीहरूलाई कुनै किसिमको ज्ञानबाट वञ्चित गराउन हुँदैन, उनीहरूको पालनपोषणदेखि नै परिवारले ध्यान दिनुपर्छ। अब वास्तवमा यस्ता विचार विस्फोट गर्ने समय आएको छ। किनभने छोरो ज्यान दिने बनाउने कि लिने बनाउने, समाजमा परिवर्तन ल्याउने चमत्कारी बनाउने कि बलात्कारी बनाउने भन्ने जिम्मा परिवारकै हातमा छ।
त्यसैले आजैदेखि छोरा-छोरी खान बस्दा दुवैलाई थाल उठाई माझ्न सिकाऊँ। दुवैलाई कोदालो लिई खन्न सिकाऊँ। दुवैलाई ज्ञानका कुरामा तर्क गर्न सिकाऊँ। दुवैलाई गाग्रोको पानी उचाल्न सिकाऊँ। दुवैलाई एकअर्काको सम्मान गर्न सिकाऊँ। एउटालाई मर्द, अर्कोलाई बुहारी बन्न हैन; असल, कर्मयोगी र जिम्मेवार व्यक्ति बन्न सिकाऊँ। यो नै वास्तवमा समानता र शान्तिपूर्ण समाज निर्माणको पहिलो कदम हो।