[ Literature ]

बिन्ती, मलाई कायर नभन!

अर्पण श्रेष्ठ

म लडेको होइन, लडाइएको हुँ,
खसेको होइन, खसाइएको हुँ,
बिन्ती, बिन्ती मलाई कायर नभन।

मेरो जीवनको मूल्य, म नहुँदा किन?,
किन यस्तो गरिस्?
यो प्रश्न अहिले किन?
कहाँ थियौ तिमी,
जब सास्ती थिए, मेरा लागि मेरा दिन,
बिन्ती, बिन्ती मलाई कायर नभन।

भनिन्छ,
धागोको लठ्ठा चुडाउन मुस्किल हुन्छ,
सजिलो छ त धागोको रेशा चुडाउन,
मलाई त्यो लठ्ठामा गाभेनौ किन?
किन छाडी दियौ मलाई बस रेशा हुन,
बिन्ती, बिन्ती मलाई कायर नभन।

हो, मैले हार खाएँ,
हताश भएँ, निराश भएँ,
तर, तर,
म नजुधेको होइन,
पल पल जुधेँ,
हर पल लडेँ,
आफ्नै भावनाहरूसँग,
यस लडाइमा साथ खोजेँ,
तिमीलाई पर्खी बसेँ,
तर तिमी आएनौँ,
किन?
बिन्ती, बिन्ती मलाई कायर नभन।

थाहा छ मलाई,
मैले तिमीलाई निराशा दिलाएँ,
अचम्मित बनाएँ,
रिस उठाएँ,
म, माफी चाहन्छु,
मैले थाम्न सकिन,
मैले खप्न सकिन,
आफ्नो लडाई लड्न सकिन,
आशा गरिरहेँ त बस् तिम्रो,
तर सायद यहीँ निर गल्ती भयो,
मेरो,

तिम्रो,
बिन्ती, बिन्ती मलाई कायर नभन।