[ Legal Education ]

लागूपदार्थ सम्बन्धि अपराध : एक विश्लेषणात्मक अध्ययन

रक्षा नेपाल/

दिक्षा सिटौला

लागूपदार्थ सम्बन्धि अपराध : एक विश्लेषणात्मक अध्ययन
पृष्ठभूमिः
समाजको ऐना कहलिने सञ्चार माध्यम त्यसमा पनि पत्रपत्रिकामा छापिने समाचारको शीर्षकहरु हेर्दा देशभरि आपराधिक घटनाहरु दिनानुदिन बढ्दै गएको देख्दा देश कमजोर हुदै गैरहेको महसुस हुन्छ । त्यस्ता अपराधहरु मध्ये लागु औषध सम्बन्धी अपराध दिनानुदिन बढ्दै गएको देखिन्छ । यसको इतिहासलाइलाई हेर्ने हो भने नेपालमा १९७० तिर हिप्पी संस्कृतिको विस्तार संगसंगै लागु औषध सम्बन्धि अपराध र समस्या बढ्दै गए । त्यसै समयपछि खासगरी सहरी क्षेत्र जस्तै काठमाडौं, पोखरा र केही पर्यटकहरु निरन्तर आइरहने स्थानका युवामा यो समस्या जागरित हुदै गयो । यसरी दिनहुँ युवाहरु यस्ता आपराधिक क्रियाकलापमा संलग्न हुदै गए भने समाज हरेक किसिमले दर्दनाक होला कि भनी अनुमान गर्न सकिन्छ ।
परिचयः
देशको काध बोक्ने र देशलाई प्रगतिको अग्रपङ्तीमा लैजाने जिम्मेवारी युवालाई नै हुन्छ। ती युवाहरु किशोरअवस्था पार गरी घर, परिवार, समाजको जिम्मेवारी बहन गरी आर्थिक, सामाजिक, र राजनितिक दृष्टिले सबल भएका हुन्छन् । संयुक्त राष्ट्र संघले युवालाई १५ देखि २४ वर्षसम्मका व्यक्ति हुन् भनी परिभाषित गरेको छ भने नेपाल सरकारले युवाको परिभाषालाई बढाएर १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई युवा भनेको छ । जस अन्तर्गत नेपालको ४०% जनसंख्या पर्दछ ।
त्यसैगरी लागूऔषध भन्नाले त्यस्ता नसाजन्य पदार्थ हुन् जसको सेवनबाट मानसिक र शारिरीक रुपमा तत्कालीन र दीर्घकालीन असर देखापर्छ । साथै लागूऔषध भन्नाले नसाजन्य पदार्थ जसलाई कानूनद्वारा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागूऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्राकृतिक तथा कृतिम लागूऔषध तथा मनोद्दिपक पदार्थ (Psychotropic Substance) लवण तथा अन्य पदार्थ सम्झनु पर्दछ ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार नेपालमा लगभग १ लाख ५० हजार लागूऔषध सेवन कर्ता रहेका छन् । अन्य अपराधको तुलनामा लागूऔषधमा संलग्न अपराधीहरु बढी रहेको देखिन्छ । लागूऔषध नियन्त्रण ब्युरोको अन्वेषण अनुसार १५ देखि २४ वर्ष उमेर समूहका लागूऔषध दुर्व्यसनीहरु ५२% तथा २५ देखि ३४ वर्ष उमेर समूहका दुर्व्यसनीहरु ४२% रहेको पाइएको छ । हाल विश्वमा १४ करोड लागूऔषध दुर्व्यसनीहरु रहेको अनुमान गरिएको छ र वर्षेनी २ लाख ५३ हजार मानिसले लागूऔषधकै कारण मृत्युवरण गर्दछन् ।
आपराधिक तत्वहरुः
आपराधिक कार्यः आपराधिक कार्य अपराधको एक महत्वपूर्ण र आवश्यक तत्व हो । यो बिना अपराध सम्भव छैन । यसलाई अपराधको भौतिक तत्व पनि भन्ने गरिन्छ । लागूऔषधको मुद्दामा भौतिक तत्वले महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
आपराधिक मनसायः लागूऔषध सम्बन्धि अपराधमा आपराधिक मनसायलाई त्यति महत्व दिइदैन । स्वेच्छाको परिणाम होस् या जबरजस्ती नै किन नभएको होस् यो अपराध घटिसकेपछि आपराधिक मनसाय हेरिदैन । यस किसिमको अपराधमा आपराधिक कार्य नै दोषी प्रमाणित हुन प्रयाप्त हुन्छ ।

लागूऔषध बढ्नुको कारणहरु (Causative Factors):
२०७४/७५ मा प्रकाशन भएका लागूऔषध सम्बन्धि १६१ समाचारहरु मध्ये ७८ वटा समाचारहरुमा उमेर समूह खुलाईएको थियो । उमेर नखुलाईएको अधिकांश समाचारहरुमा युवाहरु संलग्न भएको कुरा प्रष्ट रुपमा लेखिएको थियो । उमेर समूह खुलाइएको समाचारहरु मध्ये ८५.३७% १५-४० उमेर समूहको पाइयो। जुन युवा हुन् । यो समाचारहरु हेर्दा युवाहरु सबैखालका लागूपदार्थ जन्य अपराधहरुमा युवाहरु सलंग्न भएको पाइयो जसमा सेवन, बिक्रि वितरण, ओसार पसार, भण्डारण आदि पर्दछन् ।
दुई वर्षभरि प्रकाशन भएका समाचारहरुको अध्ययनबाट के बुझ्न सकिन्छ भने अरु उमेर समूहको तुलनामा युवाको उमेर समूह जुन १६-४० हो, यी उमेर समूहका मानिस यस्ता अपराधमा संलग्न भएको र यसले देशको ठूलो जनशक्तिलाई नकारात्मक असर पारिरहेको देखिन्छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ को महान्यायधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार अन्य अपराधको तुलनामा लागूऔषध बढी रहेको तथ्याङ्कबाट पुष्टि हुन्छ । जसमा जिल्ला सरकारी वकिलको कार्यालयमा ४१०८, उच्च सरकारी वकिल कार्यलयमा १८७४, महान्यायधिवक्ताको कार्यालयमा २९३, मुद्दा दर्ता भएका छन् । यसले के प्रष्टयाइरहेको छ भने लागूऔषध आजको नेपाली समाजको मूल समस्या हो र यसको समाधान मुख्य चुनौती हो । यी समस्याको कारण खोतल्दै जादा निम्न कारणहरु भेटिएः
खुला सिमानाः लागूऔषध अपराध बढ्नुमा खुला सिमाना प्रमुख कारण देखिन आएको छ । खुला सिमानाको कारण नेपालमा लागूऔषध बिना रोकटाेक भित्रिन्छ । दैनिक जसो सयौं संख्यामा नेपाली नवयुवा लागुऔषधमा फसेका छन् । विदेशीले समेत लागूऔषध बोकेर नेपाल आउने गरेको प्रहरी अभिलेखबाट देखिन्छ् । नेपालका सीमा जोडिएको २२ वटै जिल्ला यसको जोखिममा रहेका छन् । यिनै कारण तस्करलाई लागूऔषध नेपाल भित्र्याउन सहज बनेको छ । नेपालसंग सीमा जोडिएका भारतीय बजारमा औषधी पसलबाट नेपालमा लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको देखिन्छ । त्यसैले खुला सिमाना लागुऔषध बढ्नुको मुख्य जड बनेको छ ।
नेपालको भौगोलिक बनोट र माटोः नेपालको भौगोलिक बनोट र माटोले पनि लागूपदार्थ सहजै उपलब्ध हुने गरेको छ । मल, जल नगरि र कुनै बिउ बिना आफै नेपाली जमिनमा गाजा उम्रिने र हुर्किने हुदा गाजा उत्पादन रोक्न बाधा बनेको छ । खेती गरिएको हो या आफै उम्रिएको हो छुट्याउन गाह्रो हुने, नष्ट गरेता पनि बारम्बार आफै पलाउने, र यी सबै कुराले लागूपदार्थ उत्पादनमा लागेकालाई सहज बनेको छ । त्यसैले भौगोलिक बनोट र माटोका कारणले नेपालमा गाँजा बढि उत्पादन भैरहेको छ ।
नियन्त्रणमा कठिनाइः लागूऔषध बिक्री वितरण र ओसारपसार नियन्त्रण गर्न सम्बन्धित निकायलाई ठूलो चुनौती बनेको छ । लागूऔषध आजको दिनमा सामूहिक अपराधको रुपमा देखा परेको छ । जस्को समूह ठुलो रहेको र त्यस समूहका नाइकेहरुलाई समात्न कठिनाइ भएको छ । धेरै जसो ओसारपसार र बिक्री वितरणमा लागेका व्यक्तिहरु प्रहरीको हातमा परेपनि नाइकेहरु नपर्ने र सामान्य, अशिक्षित र आम्दानीका लागि संलग्न भएका व्यक्तिहरु मात्र परेको पाइन्छ ।
कानूनको दायरामा परेका व्यक्तिहरुलाई उचित व्यवहार गर्न नसकिएको कुरा अधिवक्ता दुर्गा सापकोटाले बताउनु भएको छ । उहाँका अनुसार नियमावली नबन्दा कानून व्यवसायीलाई पनि सम्बन्धित अदालतको हेर्न, पूर्व मिसिल पल्टयाउनुपर्ने बाध्यता भएको बताउछन् ।
बेरोजगारीः बेरोजगारी नेपाली समाजको एउटा ठूलो समस्या हो । यसको परिणाम स्वरुप समाजले धेरै समस्या खेप्नु परेको छ र ती मध्यको एक समस्या बढ्दो लागूअाैषध समबन्धी अपराध हो । दिन प्रतिदिन रोजगारीको अभावमा युवाहरु लागूऔषधको ओसारपसार र बिक्रि वितरणमा आबद्द भैरहेका छन् । आफूपनि लागूऔषध दुर्व्यसनीको सिकार बन्दै गैरहेका छन् ।
उमेर छ, बल छ, सीप छ, ज्ञान छ तर देशमा रोजगारी छैन भने अर्को तर्फ लागूऔषधमा लागिरहेका दलालहरुबाट रोजगारीको आडमा दबाब आइरहेको छ । यस्तो समयमा युवाहरुबाट के आश गर्न सकिन्छ र ? लागूऔषध सम्बन्धी अपराधमा संलग्न हुनु युवाहरुको रहर नभएर बाध्यता बनिरहेको छ ।

लागूऔषधका असरहरु (Effects of Drug):
तत्कालीन असर(Short term effect)
जागरिलोपन घटाउछ, सामान्य रुपले काम गर्न नसक्ने, मुटुको धड्कन बढ्ने, अस्वभाविक र निरन्तर हाँसो, डर लाग्ने, अलमलमा पर्ने, ओठ तालु सुक्ने, निन्द्रा लाग्ने, भोक लागि रहने, शारीरिक र मानसिक सन्तुलनमा खलबल हुने, आँखा रातो रातो हुने, वास्तविक कुरा नदेख्ने, आनन्द महसुस गर्ने, आवाज, रङ र अरु इन्द्रीयहरुको दृष्टिकोणमा असर पर्ने, सोचाइ र स्मरण शक्तिमा परिवर्तन हुने, शान्त हुने, एकोहोरो हुने,
दीर्घकालीन असर(Long term effect)
मस्तिष्कः सिक्ने क्षमता, स्मरणशक्ति र एकाग्रतामा हानी पुग्ने
फोक्सोः धुम्रपान गरेमा दम हुने, घाटीमा समस्या आउने, र ब्रोङकाइटिस हुने
हर्मोनः उत्पादनमा असर पर्ने, महिनावारी निरन्तर नहुने, यौन इच्छा घट्ने, शुक्राणुको संख्या घट्ने
रोग प्रतिरोधात्मक क्षमताः रोग विरुद्द लड्ने क्षमतामा असर पर्छ
लागूपदार्थ धेरै मात्रामा लामो समयसम्म सेवन गर्नाले दुई किसिमको समस्या देखा पर्छः
Drug-induced psychosis, Cannabis psychosis
अन्य असरहरुः
सामाजिक समस्याहरुः मानिसको व्यक्तिगत जीवनको हरेक क्षेत्रमा लागूऔषधको असर देख्न सकिन्छ । जस्तैः परिवारमा द्वन्द्व उत्पन्न हुने, झैझगडा बढ्ने, पारिवारिक सदस्यबीच असहमति बढ्न जाने, पेशागत जीवन र सामाजिक जीवनमा पनि असर पर्ने देखिन्छ ।
सवारी सम्बन्धीः आवाज, रङ र अरु इन्द्रीयहरुको दृष्टिकोणमा परिवर्तन हुने हुनाले आफु मात्र नभइ अरुको समेत दुर्घटना हुने सम्भावना बढ्ने,
पेशागत जीवनमा असरः आफ्नो काममा राम्ररी ध्यान पुर्याउन नसक्ने, एकाग्रता हुन नसक्ने, जिम्मेवारी बिर्सने,
सहनशीलता र निर्भरताः निरन्तर सेवन गर्ने मानिसहरुको निर्भरता बढ्दै जान्छ, खान नपाए सहन नसक्ने, शारिरिक र मानसिक असक्तता,

कानुनी व्यवस्था (Laws relating to Narcotic Drug):

प्रकारहरुः
लागूपदार्थ जन्य अपराधहरुलाई यसरी वर्गीकरण गर्न सकिन्छः सेवन, उत्पादन, भण्डारण (प्रशोधन र गोली तयार गर्ने), बिक्रिवितरण, खरिदबिक्रि, व्यापार,ओसारपसार, आयात, निर्यात,
प्रमाणः
लागूपदार्थ सम्बन्धी अपराधलाई प्रमाणित गर्ने सम्पूर्ण जिम्मेवारी अभियुक्तको रहन्छ । कार्य नै प्रयाप्त हुने यस्तो अपराधलाई निरपेक्ष दायित्व भनी वर्णन गरिएको छ । यो गलत मनोभावना बिना तिम्रो कार्यले मात्र सजायको भागेदार हुन पर्छ भने त्यो निरपेक्ष दायित्व हो ।
Extra Territorial Jurisdiction भन्नाले त्यस्तो अधिकार हो जसको प्रयोगबाट अपराधसंग सम्बन्धित निकायले आफ्नो सीमाभन्दा बाहिर भागेका अपराधीलाई कुनै पनि बखत हिरासतमा लिन सक्छ । यो क्षेत्राधिकार आफ्नो सिमानाभन्दा बाहिर पनि लागु हुने भएकाले यसलाई extra territorial jurisdiction भनिएको हो । यस्तो क्षेत्राधिकार सिमित अपराधहरुमा मात्र रहेको हुन्छ।

ययउमेर समूह
१४ र सो भन्दा मुनि
१५-२०
२१-२५
२६-३०
३१-३५
३६-४०
४१-४५
४६-५०
५१-५५
५६-६०
६० भन्दा माथि
संख्या

३०
४३
३३
१९
१५





स्रोतः नागरिक, गोरखापत्र, राजधानी, नेपाल समाचार पत्र, कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट, The Kathmandu Post, The Himalayan Times, Republica

विश्लेषण (Analysis):
आजको नेपाली समाजको तितो यथार्थ यो हो कि दिन प्रतिदिन आपराधिक घटनाहरु बडिरहेका छन् त्यसमा पनि लागूऔषधले प्रथम स्थान ओगट्न पुगेको छ । यो अपराधमा धेरैजसो युवावर्ग संलग्न देखिन्छन् जसले नेपालको भविष्य धरापमा रहेको अनुमान गर्न सकिन्छ । युवा भनेको देशका खम्बा हुन् तिनीहरु लागूपदार्थ दुर्व्यसनी, ओसारपसार र बिक्रि वितरण जस्ता क्रियाकलापमा फसेपछि देशको भविष्य अन्धकारतिर बढेको छ भन्न केही अप्ठ्यारो नपर्ला । अधिकांश प्रतिवेदन, खोज, अनुसन्धानले के देखाएको छ भने जोस र जांगरले भरिएका युवाहरु बेरोजगार भइ बस्नु परेको कारणले गर्दा उनीहरु यस्ता आपराधिक क्रियाकलापमा संलग्न हुन पुगेका रहेछन् ।
राष्ट्रिय स्तरका पत्रिकामा आएका खबर जस्तैः विद्यालय नजिकै गाँजा खेती, शिक्षिकाको झोलामा चरेस, लागूऔषधको दलदलमा युवा, जस्ता शीर्षकले के प्रष्ट्याइरहेका छन् भने नेपालमा युवाको चौतर्फी विकासका लागि वातावरणको अभाव रहेको छ । यसरी लागूऔषधको अपराध बढिरहदाँ समाज सुधारमा जिम्मेवार रहेका व्यक्ति पनि यस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ । लागूऔषधसहित वडा सदस्य पक्राउ, मेयरको इटा भट्टामा भारतीय नागरिकको गाँजा कारोबार, मानव अधिकारकर्मी लागूऔषध कारोबारमा जस्ता शीर्षक भएका समाचारले पुष्टि गर्दछ । कानूनको कार्यान्वन गरी समाज सुधार गर्नुपर्ने जिम्मेवार व्यक्तिले यसको विपरीत गइ यस्ता अपराध जन्य क्रियाकलापमा संलग्न भएको हुँदा लागूअाैषध जन्य क्रियाकलापहरु दिनानुदिन बढ्दै गैरहेका छन् ।
यति मात्र नभएर कारागार भित्र लागूपदार्थ कारोबार भन्ने सामाचारले नेपालको दण्ड प्रणाली र सुरक्षामा प्रश्न चिह्न खडा हुन जान्छ । त्यसैगरी, कतारमा लागूऔषधको भरियाबन्दै नेपाली यो भन्दा अरु दुखद समाचार के हुन सक्छ । ठूलो रकम तिरी आयआर्जन गर्न घरबाट टाढिएका नेपालीहरु विदेशी माटोमा गैरकानूनी काम गर्न बाध्य छन् ।
निश्कर्ष (Conclusion)
लागूपदार्थ देशको वातातरण, कमजोर निति र अरु यावत कुराको नतिजा मात्र नभएर अरु अपराधको उत्प्रेरक र कारक तत्व हो भन्ने कुरा हेरोइन सेवन गर्ने विषयमा बिवाद हुदा हत्या भन्ने समाचारले छर्लङ पार्दछ । त्यसैले लागूऔषधजन्य अपराधले अरु अपराधहरु पनि बढाउने हुदा सम्बन्धित निकायको समयमै ध्यानाकर्षण हुन आवश्यक देखिन्छ । यदि यसरी यस्ता आपराधिक घटना बढ्दै गएमा सामाजिक संरचनामा ह्रास आउन सक्छ ।