[ Health ]

मानसिक महामारी !

रक्षा नेपाल/ दिक्षा सिटौला

कोभिड-१९ सँग आज विश्व नै जुधिरहेको छ। विश्वका विभिन्न अनुसन्धानकर्ता तथा विज्ञहरूले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत विभिन्न पक्षमा कोभिड-१९ बाट हुन गएको र हुनसक्ने क्षतिको दिनहुँ चर्चा गरिरहेका छन्। स्वास्थ्य सम्बन्धमा यो महामारीले शारीरिक रूपमा मात्र नभएर मानसिक स्वास्थ्यलाई पनि गम्भीर असर पार्ने कुरा स्पष्ट नै छ। 

मानिसको मस्तिष्क मात्र नभई शरीरका सम्पूर्ण भाग स्वस्थ हुनु वा मानसिकलगायत शारीरिक, सामाजिक, संवेगात्मक सबै दृष्टिले स्वस्थ भएमा मानसिक स्वस्थता कायम भएको मानिनेछ। विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य भन्नाले सुस्वास्थ्यको त्यस्तो अवस्था, जहाँ प्रत्येक व्यक्तिले आफ्ना सम्भावना महसुस गर्छ, जीवनका सामान्य तनावहरूको सहज सामना गर्छ तथा उत्पादनशील रूपमा काम गर्दै आफ्नो समुदायमा केही योगदान पुर्‍याउँछ। तसर्थ पूर्णरूपमा स्वस्थ हुन मानसिक रूपमा पनि सबल अनि स्वस्थ हुन अत्यन्त जरुरी छ। 

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्सले प्रकाशन गरेको तथ्यांकअनुसार विश्वभरि करिब १३ प्रतिशत मानिस मानसिक समस्याको सिकार भएका हुन्छन्। ती कस्ता कस्ता समस्या हुन् त ?डिप्रेसन- जसमा खुसी नहुने, कोहीप्रति माया नलाग्ने, आशा मर्ने, जाँगर नलाग्ने, खान रुचि नहुने, निद्रा नलाग्ने, झर्को लाग्ने, पश्चात्ताप हुने, ध्यान एकीकृत नहुने, दुःखाइ बढ्नेजस्ता लक्षण देखापर्ने हुन्छ। चिन्ता-यदि कुनै पनि व्यक्तिलाई अनावश्यक चिन्ता लिने, डराउने, काम्ने, चञ्चल हुने, थकाइ बढ्ने, ध्यान केन्द्रित हुन नसक्ने, निद्रामा परिवर्तन आइरहने जस्ता लक्षण देखिएमा चिन्ता भएको मानिनेछ। बाइपोलर डिसअर्डर- धेरैजसो मुडमा परिवर्तन आउने मानसिक रोगलाई बाइपोलर डिसअर्डर भनिन्छ।

सिजोफ्रेनिया- जसमा भ्रम पैदा हुने, मतिभ्रम हुने अनौठो बोली र व्यवहार देखाउने, सामाजिक र पेसागत कार्यमा ठीक काम नहुनुजस्ता लक्षण देखा पर्छन्। सबस्ट्यान्स एब्युज- लागु पदार्थको अत्यधिक रूपमा सेवन गर्न मन लाग्नु, लागू पदार्थ सेवन गर्नका लागि अन्य क्रियाकलापमा संलग्न हुनुजस्ता लक्षण देखिएमा सबस्ट्यान्स एब्युज भएको मानिन्छ। ध्यान- निद्रा भंग हुने, रिस उठ्ने, शरीरमा शक्ति नहुनेजस्ता लक्षण देखिएमा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर भएको मानिनेछ। 

कोभिड १९ का कारण मानिसमा तीन मानसिक रोग देखिन सक्छ। डिप्रेसन, चिन्ता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर अर्थात् पीटीएसडी। विभिन्न अध्ययन सामग्रीलाई आधार मान्ने हो भनेपीटीएसडी यस्तो मानसिक रोग हो जुन मानिसले कुनै पनि दर्दनाक, तनावपूर्ण अवस्था भोगिसकेपछि उत्पन्न हुन्छ। यसरी यो रोग देखापर्ने समयमा मानिसले आफ्नो र आफू वरपर भएका मानिसको ज्यान खतरामा पर्न गएको अनुभव गर्छ। ती लक्षण देखिएको मानिसमा डर भने अत्यन्तै ज्यादै हुन्छ। 

बालबालिकाहरूले खेल्ने-कुद्ने, नयाँ सीप सिक्ने, सामाजिकीकरण हुने समयमा, पढाइसमेत बन्द भएको छ। बालबालिकाहरू मानसिक रूपले अरु उमेर समूहभन्दा संवेदनशील हुन्छन्।

२०२० अप्रिल १० मा प्रकाशित‘द मेन्टल हेल्थ कन्सिक्वेन्सेस् अफ कोभिड १९ एन्ड फिजिकल डिस्टेन्सिङ’ लेखका अनुसार विभिन्न समयमा भएका अप्रिय घटनाहरूले मानिसमा धेरै खालका शारीरिक र मानसिक समस्या ल्याउँदै आएका छन्। तीमध्ये केही उदाहारण निम्नानुसार हुन् :
सन् २००८ मा आएको इक (आइकेई) तुफानले ५ प्रतिशत जनसंख्यालाई नकारात्मक असर पारेको थियो। तिनीहरुमा डिप्रेसन, चिन्ता र अन्य मानसिक समस्या देखापरेको थियो। सन् २००१ मा भएको ९÷११ आक्रमणले धेरैमा शारीरिक र मानसिक क्षति पुर्‍याएको थियो। दसमध्ये एक जना प्रौढ विभिन्न खालका मानसिक समस्याका सिकार हुनपुगेका थिए। त्यसैगरी सन् २००२ देखि २००३ बीच देखिएको सार्सनामक महामारीले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर, डिप्रेसन, चिन्ता र अन्य मानसिक समस्या निम्त्याएको थियो। 

यस्तो महामारीको समयमा मानसिक समस्या देखापर्नु स्वाभाविकै हो। त्यसमा पनि रोगसँग जुधिरहेका बिरामी, वृद्ध, बालबालिका, स्वास्थ्यकर्मी र विपन्न वर्ग जसमध्ये खान-लाउन दुःख हुनेमा बढी तनाव र अन्य मानसिक समस्या देखापर्न सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ६० वर्षभन्दा माथि उमेरका १५ प्रतिशत वृद्धमा मानसिक समस्या पाइन्छ। ८० वर्षभन्दा माथि उमेरका वृद्धमा कम सामाजिक अन्तक्र्रियाका कारण मानसिक रोग निम्तिन सक्छ। त्यस्तै केही समाजशास्त्रीहरुका अनुसार एक्लै बस्ने र एक्लोपन महसुस गर्ने वृद्धहरूमा विभिन्न मानसिक तनाव र चिन्ताका कारण आत्महत्याको सम्भावना हुन्छ।बिरामी र वृद्धको यस अवस्थामा आत्मबल र मनोबल कमजोर हुन्छ, त्यसै त रोगप्रतिरोधात्मक शक्ति पनि कम हुने भएकाले जोखिम पनि बढी हुन्छ। प्रायः वृद्धहरू धेरै रोगसँग जुधिरहेका हुन्छन् र यो समयमाभाइरसका कारण एक्लिनुपर्दा मस्तिष्कमा नकारात्मक असर पर्छ। 

बालबालिकाहरूले खेल्ने-कुद्ने, नयाँ सीप सिक्ने, सामाजिकीकरण हुने समयमा, पढाइसमेत बन्द भएको छ। बालबालिकाहरू मानसिक रूपले अरु उमेर समूहभन्दा संवेदनशील हुन्छन्। सन् २०१३ मा प्रकाशित डिजास्टर मेडिसिन एन्ड पब्लिक हेल्थ प्रिपेयर्डनेस शीर्षकको अनुसन्धानले महामारीका बेला क्वारेन्टिनमा बसेका र नबसेका बालबालिकामाथि गरेको अध्ययनले क्वारेन्टिइनमा बस्नेमा चार गुणा बढी मानसिक समस्या भएको देखाएको छ। विशेष गरी बालबालिकाहरूले आफ्नो अभिभावकसँग टाँसिने वा छोड्न नमान्ने, बिस्तरामा पिसाब फेर्ने, औँला चुस्ने, रुने, सपनामा बर्बराउने जस्ता लक्षण देखाउँछन्। त्यसैले यस्तो समयमा बढी हेरचाह गर्नुपर्छ।

अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीसमेत चेतना भएतापनि यो समस्याको सिकार हुन सक्दैनन् भन्न सकिँदैन। स्वास्थ्यकर्मीहरू कुनै पनि प्रकोप प्रतिक्रियाको अग्रपंक्तिमा हुन्छन्। यस्तो समयमा लामो समयसम्म काम गर्ने, मनोवैज्ञानिक समस्या, थकान, व्यावसायिक बर्नआउट, शारीरिक र मनोवैज्ञानिक हिंसा हुने सम्भावना हुन्छ। उनीहरू एकैपटक भाइरसको सम्पर्कमा धेरै आउने हुँदा बिरामी पर्ने सम्भावना धेरै भएको चीन, अमेरिका र इटालीको अनुभवले देखाउँछ। 

अर्को प्रमुख पीडित वर्ग भनेको विपन्न वर्ग नै हुन्। महामारीले यो समूहको जीविकोपार्जनमा नराम्रो प्रभाव पारेको छ। २०२० अप्रिल ८ मा प्रकाशित युएन न्युजमा आईएलओसँग भएको तथ्यांकअनुरूप २ अर्ब मानिस अनौपचारिक रूपमा काम गरिरहेका छन् जसमध्ये १ करोडलाईकोभिड १९ ले जीवन बिताउन असहज भइरहेको छ। आईएलओले भारतको ९० प्रतिशत जनता अनौपचारिक काममा संलग्न भएकाले देशलाइ नै ठूलो असर पर्नेसमेत आँकलन गरेको छ। बन्दाबन्दीले गर्दा कम तलबमा काम गर्ने र अनौपचारिक काम गर्नेहरूलाई आधारभूत आवश्यकता नै पूरा गर्न कठिनाइ भइरहेको छ। यो अवस्था हामीकहाँ र हाम्रो छिमेकी मुलुकमा पनि पाउन सक्छौँ। यसबाट पनि के निष्कर्षमा पुग्न सकिन्छ भने मानिसको जीवनको आधारभूत आवश्यकतामध्येको पहिलो आवश्यकता गाँसमा सिधा असर परेको छ। यसको कारणले गर्दा उनीहरूमा गहिरो मानसिक असन्तुलन वा विचलन हुन जान्छ।

२०२० अप्रिल २२ मा नेपाली टाइम्समा प्रकाशित लेखअनुसार कोभिड १९ ले नेपालमा पनि मानसिक समस्या बढाउन सक्ने ठूलो सम्भावना छ। यसै लेखअनुसार ३ वर्षअघि गरिएको सर्वेक्षणले नेपालको ३७ प्रतिशत जनसंख्यामा मानसिक समस्या देखिएको छ। त्यसैगरी हालै १५ सय नेपाली सहभागी भएको सर्वेक्षण अनुसार ४२ प्रतिशतलाई एक प्रकारको मानसिक समस्या छ, २६ प्रतिशतलाई दुई वा दुईभन्दा बढी र १५ प्रतिशत मानसिक रोगीले मादक पदार्थ र अन्य नशाजन्य पदार्थ सेवन गर्ने गरेका छन्। यो विवरणले प्रस्ट रूपमा हाम्रो भविष्य देखाइरहेको छ। प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि भनेका छन्, हामीले त्यही सोचले समस्या समाधान गर्न सक्दैनौँ, जुन सोचले समस्या उत्पन्न भएको हो।

त्यसैले हामीले हाम्रो मानसिक रोगप्रतिको धारणा परिवर्तन गर्ने समय आएको छ। यदि हामी समस्या लुकाउछौँ, समस्या भएको व्यक्तिलाई पागलपन भएको व्यक्ति सरह लिन्छौं भने पक्कै पनि समस्या समाधान हुनुको साटो बढेर जाने निश्चित छ। अहिलेको समयमा मानसिक रोग न्यूनीकरण गर्न निम्न उपाय अपनाउनुपर्छ : बालबालिका र वृद्धलाई बढीभन्दा बढी समय दिने,बालबालिकालाई सिर्जनात्मक कार्यमा संलग्न गराउने, शारीरिक दुरी कायम राखे पनि सामाजिक दुरी भने कायम नराख्ने, बिरामीलाई पनि प्रविधिकै प्रयोगमार्फत भएपनि एक्लोपनको महसुस गर्न नदिने, स्वास्थ्यकर्मीले कार्यस्थलमा मात्र नभई सामान्य जीवन यापनमा समेत उत्तिकै समय दिने,स्वास्थ्यकर्मीको मनोबल बढाउन अधिकतम सुरक्षा प्रदान गरी सुविधा दिलाउने, विपन्न वर्गलाई सहयोग प्रदान गर्ने।