[ Events and Activities ]

रङ्गभेदले सल्केको आगो

सत्य नारायण महर्जन

विश्व अहिले ठुलो महामारीमा जुधिरहेको समयमा अहिले एउटा नयाँ विषयले विश्व जगतलाई उठाएको छ। लक डाउनको अवस्थामा सारा देश बन्द अवस्थामा छन्। यद्दपी केहि मुलुकहरुले भने कोरोनाको प्रकोपलाई सावधानी अपनाएर बिस्तारै बिस्तारै सामान्य जीवन तर्फ लाने कोसिस गर्दै छन्। मानिसहरु पनि अब लक डाउनबाट वाक्क भई आफ्नो सावधानी अपनाएर पुरानै दिनहरुमा फर्किने कोसिसमा छन्।

यतिका समय बितिसक्दा पनि स्वास्थ्य चिकित्सक, विशेसज्ञ र वैज्ञानिकहरु यस रोग सँग लड्ने र यसलाई निको बनाउन सक्ने उपचारको खोजीमा लागी पर्दा पनि, मानिसहरुलाई बचाउन खोज्दा खोज्दै पनि हार बेहोरिरहेको अवस्था छ। यस्तो अवस्थामा भने अहिले संयुक्त राष्ट्र अमेरिकामा रङ्गभेदबाट जन्मिएको मुद्दालाई लिएर चर्को प्रदर्शन भईरहेको  छ।

यो आन्दोलन किन यसरी एक्कासी ठुलो रुप लिएर आयो ? यस लक डाउनको स्थितिमा सरकारले सारा जनताहरुलाई आफ्नै घरमा सुरक्षित बस्न आग्रह गर्दा गर्दै पनि किन एका-एक यसरि मानिसहरु सडकमा आएर आन्दोलन गर्न, प्रदर्शन गर्न थाले ? यस विषयलाई हेर्ने हो भने मुद्दाको उठान २० अमेरिकी डलरको नक्कली मुद्राको प्रयोग भएको कुराबाट उठेको हो।

मिन्नेसोटाको मिन्नेपोलिसमा बसोबास गर्ने ४५ वर्षका अमेरिकी नागरिक जर्ज फ़्लोयडलाई मे २५ तारिखको दिन अमेरिकी प्रहरी डेरीक चौभिनले उक्त नक्कली मुद्रा प्रयोग गरेको आरोपमा उनलाई पक्रिएर हिरासतमा लिने क्रममा उनको घाँटीमा घुँडाले थिची नियन्त्रणमा लिने प्रयास गर्दा जर्जको निधन भएको थियो। उक्त विषयलाई लिएर अहिले अमेरिकामा पिडितको निम्ति न्यायको माग गर्दै सो कार्य गर्ने प्रहरीलाई सजायको माग गर्दै विरोधहरु हुँदै आएका छन्।

उक्त विषयलाई हेर्दा मुद्राको अपराध जर्जले नै गरेका थिए वा अरु कसैले गरेका थिए भन्ने कुराको पत्ता अनुसन्धानको कुराबाट थाहा हुने कुरा थियो तर जब पक्राउ गर्दा मानिसको ज्यान जान्छ, तब त्यो विषयले एउटा छुट्टै किसिमको मोड लिने गर्दछ। पक्राउ गर्ने प्रहरीले पनि मार्ने मनस्थितिमा नै त्यस्तो कार्य गरि मारेको हो वा होइनन्न भनेर हेर्ने कुरा छुट्टै हो तर जब कुनै पनि व्यक्तिको ज्यान जान्छ भने त्यो मुद्दाले एउटा गम्भीर फौजदारी अपराधलाइ जोडिदिने गर्दछ। दुर्घटनाको कारणले होस या त जान-जानी नै, ज्यान गइ सके पश्चात सो व्यक्तिले सजायको भागिदार हुनु पर्छ।  मुद्दाको प्रकृति हेरी के कति सजाय हुने भन्ने कुरा न्यायाधिशले, कानुनले र सोच्छ न्यायलयले गर्ने कुरा हो। यति मात्रै नभई अहिले चर्का-चर्की बन्न पुगेको यो विषय यति कुराले मात्र होइन, यसमा जब रङ्गभेदको कुरा पनि मिसाइयो त्यस पश्चात यसले ठुलो रुप लिएको हो।

अमेरिका एउटा स्वतन्त्र राज्य भनि चिनिने राष्ट्र हो जसको सबै भन्दा पुरानो संविधान अझै पनि प्रचलनमा छ।  त्यो संविधानको प्रस्तावनामा नै के लेखिएको छ भन्दा  “हामी संयुक्त राज्यका जनताले अझ परिपक्व युनियन गठन गर्न, न्याय स्थापना गर्ने, घरेलु शान्तिको बचाउ गर्ने, साझा सुरक्षाको लागि प्रदान गर्ने, सामान्य कल्याणको प्रवर्द्धन गर्ने, र स्वतन्त्रताका आशिषहरु आफैंलाई र हाम्रो वंशलाई सुरक्षित गर्न, आदेश दिन र यो संविधान संयुक्त राज्य अमेरिका को लागी स्थापना गर्ने ” भनि लेखिएको छ। त्यही देशमा अहिले रंगभेदको कुराले चर्का चर्की परिरहेको छ।  जुन देशले सबै भन्दा बढी अधिकारको कुरा गर्छ, जुन देशले सबै भन्दा बढी अभियन्ता र मानव अधिकारको कुरा गर्छ, हाल अहिले त्यही देशले यी सब कुराबाट गुज्रिनु परेको छ। सामान्य रुपमा रंगभेद को अर्थ बुझ्दा यदि कुनै पनि व्यक्तिलाई छाला, रंग वा वर्णको आधारमा उनलाई भेदभाव गरिन्छ भने त्यसलाई रंगभेद भनेर भनिन्छ। काला र गोरा भनि छुट्टाउने परम्परा अमेरिकामा अहिले मात्रै भएको होइन, त्यो धेरै पहिले पनि थियो तर एब्रहिम लिङ्कन, मार्टिन लुथर किङ्ग जस्ता व्यक्तिका कारण त्यसको प्रत्यक्ष रुपमा गरिने भेदभावमा रोक लागेको हो तर पनि मानिसको मनस्थितिबाट नै यस्तो रंग भेदको कुरा नहटेका कारण अहिले पनि यस्ता किसिमका गम्भीर सामाजिक समस्या एवम मानवअधिकार विरुद्दको कार्यहरु समाजमा चलि रहनेनै अवस्था हुन्छन्। तसर्थ अहिले जर्ज फ़्लोय्डको विषयलाइ लिएर उठाईएको रंगभेदको कुरा वास्तवमा नयाँ कुरा भने होइन।

रङ्गभेदलाई विभिन्न सन्धि महा सन्धिले समेत अपराधिक कार्य भनि व्यवस्था गरेका छन्। विश्वव्यापी मानवाधिकार सम्बन्धि घोषणापत्र, १९४८ को प्रस्तावना लाइ हेर्ने हो भने पनि सम्मान रुपमा बाँच्न पाउने हक, न्याय सम्बन्धि हक, स्वतन्त्र भई बाँच्न पाउने हकका निम्ति सो घोषणा पत्र जारी गरिएको हो र सो घोषणा पत्र को धारा (२) ले प्रष्ट रुपमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको भेदभाव जस्तै जाति, रंग, लिङ्ग, भाषा, धर्म, राजनैतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक, सम्पत्ति, जन्म वा अन्य स्थितिलाई लिएर भेदभाव गर्न नपाईने भनि व्यवस्था गरेको छ।

त्यस्तै सबै रंगभेद विभेदको उन्मूलनको लागि गरिएको अन्तर्राष्ट्रिय सम्मेलन, १९६५ को पनि धारा (२),(५) र (६) ले रंगभेद सम्बन्धमा यसको बचाउको निम्ति व्यवस्था गरेको छ तर पनि रङ्गभेद अझै पनि प्रचलनमा अप्रत्यक्ष रुपमा बाँच्दै आएको छ। विभिन्न संघ संस्थाहरुले विश्वव्यापी रुपमा यसको विरुद्दमा कामहरु गरे पनि यसको जरा देखिनै यसको उन्मुलन गराउन नसक्नु नै यस्ता कुराहरुको मुद्दा उठ्नुको कारण हो। रंगभेद मात्र होइन, कुनै पनि किसिम को भेदभाव एउटा मानिसले अर्को व्यक्तिलाइ गर्नु हुँदैन। अहिले यस मुद्दामा निधन भएका जर्ज फ़्लोयड एक व्यति हुन् र उनि अमेरिकी नागरिक हुन्। उनि काला वर्णको छाला भएका व्यक्ति भए पनि उनि अमेरिकी नागरिक हुन्। मृत्यु सायद कुनै गोरो व्यक्तिको पनि हुनसक्थ्यो। तर यस विषयमा मानिसहरुले न्यायको कुरामा रङ्गभेदलाइ मिसाएर ल्याएका छन्। न्याय बराबर हुन्छ र कालो सेतो नभनी सबैको निम्ति एउटै हुनु पर्छ। त्यसकारण यस विषयमा हाल कालो वर्णको व्यक्तिलाई मारिएको भनि उर्लिनु भन्दा पनि अमेरिकी नागरिक जर्ज फ़्लोयडको न्यायको लागि उभिनु पर्ने जस्तो देखिन्छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि रङ्गभेद अपराधिक कार्यको रुपमा कानुनले मानेको छ। संविधानको धारा (१६) ले सम्मान पुर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ, धारा (१८) ले समानताको हकको व्यवस्था गरेको छ, धारा (२०) ले न्याय सम्बन्धि हकको व्यवस्था गरेको छ भने धारा (२४) ले छुवाछुत तथा भेदभाव विरुद्द को हकको व्यवस्था गरेको छ जसको उपधारा (५) ले भेदभाव जन्य कार्य गम्भीर सामाजिक अपराधको रुपमा मानि उक्त कार्य गरेमा दण्डनीय हुने र पिडितलाई कानुन बमोजिम क्षतिपूर्ति समेत दिने व्यवस्था गरेको छ। अहिले हाल चलनमा रहेको मुलुकी देवानी संहिता, २०७४ को दफा (१८) ले पनि कुनै पनि रुपमा  जातजाति ,लिङ्ग,शाररिक अवस्था,अपांगता, भाषा, वर्ण समुदाय वा अन्य यस्तै कुनै पनि आधारमा भेदभाव छैन भनि छ। मुलुकी अपराध संहिता २०७४ ले पनि दफा (१६१) मा कुनै पनि भेदभाव जन्य कार्य गर्न नहुने र यदि सो गरेमा सोहि दफा को उपदफा (२) अनुसार कसुर गर्ने र गराउने व्यक्तिलाई ३ वर्ष सम्म कैद वा तिस हजार सम्म जरिवाना वा दुवै हुने भन्ने व्यवस्था गरेको छ।

यस्तो व्यवस्था हुँदा हुँदै पनि नेपालको सन्दर्भ भने रंगभेदको हकमा अन्य मुलुक भन्दा भिन्न किसिमको छ। नेपालमा काले वा गोरी भनेर हेपिने प्रवृति खासै छैन। यो अहिले पनि छैन र पहिले पनि थिएन। चलन चल्तीमा मायाले “काले” वा “काली” भनि बोलाइने गरिन्छ। हाम्रा कति संस्कृतिक गीत, कथा, नाटकहरुमा समेत यी शब्दहरु प्रयोग भएका छन् तर यही कुरा रिस वा नचिनेको कुनै व्यक्तिले भनेको खण्डमा भने आफुलाई होच्याइएको महसुस पर्ने गर्दछ। यही विषयमा अमेरिकी राष्ट्रमा भने काला वर्ण भएका मानिसहरुलाई तुच्छ किसमको अर्थ लाग्ने “निग्रो” लगायत अन्य किसमका अपशब्दहरु प्रयोग गरि भेदभाव गरिने गरिन्छ। अमेरिकाका सबै गोरा व्यक्तिहरुले त्यस्तो गर्छन् भन्ने होइन तर केहि व्यक्तिहरुले गर्दा नै यस्ता सामाजिक समस्याहरु समाजमा बल्झिरहेका हुन्छन। गोरोलाइ राम्रो कालोलाई नराम्रोभनि रङ्गको आधारबाट नै सुरु हुने गर्दछ। तसर्थ यस्ता किसिमका भेदभावहरु कागजमा लेखिएका अक्षरहरुमा मात्र नभई मानिसहरुको मस्तिस्क र मन बाट समेत मेटाउनु पर्छ। सायद अहिलेको यो आन्दोलन ट्रम्प विरुद्दका मानिसहरुले गर्न खोजेका हुन् भन्ने समेत धेरै पत्रपत्रिकाले अड्कल बाजी गरेका छन्। तर यो विषयमा काला वर्गका व्यक्तिका मात्र कुरा नगरी सम्पूर्ण मानव अधिकारको कुरालाई लिएर, अमेरिकी नागरिकको मौलिक हकको कुराहरुलाई लिएर उभिनु पर्ने जरुरि देखिन्छ।

काला वर्ण सँधै हेपिएका छन् भने होइन। त्यो इतिहासको पानाहरुमा बिर्सिनु पर्ने र दोहोरिन नदिनु पर्ने कुरासरह राखिनु पर्छ। यदि काला वर्णका व्यक्तिहरु त्यसरीनै हेपिंदै, अन्यायमै परेका हुन् भने अमेरिकाका पुर्व राष्ट्रपति बराक ओवामा राष्ट्रपतिको पदमा पग्न पाउने थिएनन, त्यस्तै मोर्गन फ्रिम्यान, स्याम्युल ज्याक्सन जस्ता अभिनेताहरु, माइकल जोर्डन, जोन वायन जस्ता खेलाडीहरु पनि काला वर्णकै हुन्। तर यी व्यक्तिहरुले आफ्नो सिप र कलालाई प्रयोग गरी सफलता पाएका हुन्। यी कुराहरु केहि थोरै व्यक्ति जोसले नैतिकता गुमाएका छन्, उनीहरुको सोचमा पर्ने कुराहरु हुन्। तसर्थ कोहि कालो र सेतो हुँदैमा हेपिने भन्ने कुरा हुँदैन। स्वच्छ र निष्पक्ष रुपमा न्याय पाउनु नै एक पिडितको निम्ति उपचार सरह हो भने अपराधीलाई कानुन बमोजिमको सजाय दिलाउनु भनेको उसको निम्ति दण्ड हो। अहिले अमेरिकामा मानिसहरु जुन किसिमले सडकमा उत्रिएर विरोध गर्दै छन्, ति विरोध पहिले पनि भएका थिए र भोलिका दिनहरुमा पनि हुनेछन्। जबसम्म मानिसहरुले रंगभेद को सम्बन्धमा राम्रो चेतना हुँदैन, तब सम्म यो समाप्त कहिल्यै पनि हुँदैन।

अमेरिकामा अपराध गर्नेको अपराधिहरुको सुचिमा पनि प्राय जसो काला वर्णका व्यक्तिहरु ठुलो शंख्यामा पर्दछन्। तर यसको मतलव सबै अपराध गर्ने काला मान्छे नै मात्र हुन्छन् भन्ने हुँदैन। त्यस्तै गोरा व्यक्तिहरुले सँधै काला व्यक्तिहरुलाई दमन गर्ने भेदभाव गर्ने भन्ने पनि हुँदैन। यदि अमेरिकाको यस घटनामा प्रहरी कालो वर्णको भएको भए र जर्ज फ़्लोयड सेता वर्णका व्यक्ति भएका भए रङ्गभेदको कुरा यति ठुलो रुपमा उठ्ने थियो कि थिएन भन्ने कुरालाई पनि हेर्नु पर्ने हुन्छ। त्यसैकारण भनिन्छ “कुनै पनि युद्द सुरु हुनको लागि ठुलो घटना चाहिंदैन, सानो न्युहु मात्र भए हुन्छ” ठिक यो भनाई अनुसार नै अहिले अमेरिकामा चलेको विरोधलाई यसले प्रष्ट पारेको छ। रङ्गभेदको विरुद्द विरोध जहिल्यै पनि उठ्न सक्ने थियो, तर यो विषय अहिले एउटा त्यही “न्युहु” जसरि प्रयोग भई आन्दोलन भएको छ। तर यस आन्दोलनलाई रंगभेद विरुद्दको आन्दोलनलाई जोडेर लानु भन्दा पनि मानिसको ज्यान गुमाएका कारण न्यायको माग गरि  विरोध गर्नु पर्ने जस्तो लाग्छ।

रंग भेदको सम्बन्धमा हेर्ने हो भने विज्ञापन देखि लिएर हरेक कुरामा कालो वर्णलाई घृणा गरिने प्रवृति अझै पनि रहँदै छ। अनुहार सँधै गोरो नै राम्रो हुनु पर्ने , यदि नभएमा क्रिम वा पाउडर दलेर गोरो देखाई राम्रो देखाउन खोजिने विज्ञापन देखि नै रंगभेदको कुराहरु अझै पनि चल्दै आएका छन्।  त्यति मात्र नभई सुन्दर/ सुन्दरी प्रतियोगितामा पनि जो गोरो/ गोरी छन् उनीहरु नै उपाधिको हकदार हुनु पर्ने, यदि काला वर्णका सक्षम व्यक्तिले उपाधि जिते भने पनि त्यसको आलोचना ठुलो रहने गरेको पनि अहिलेकै समय हो। यस्ता किसिमका उद्दारणले नै कालो र सेतो रंगभेदको विभेदलाई स्पष्ट रुपमा झाल्काउँछ। तसर्थ यो विषय हेर्ने हो भने तत्कालै उठेको विषय भने होइन तर यसलाई नै आधार बनाएर धेरै अगाडी देखिका दविएर बसेका अवाजहरु एकै साथ उठेको अवस्था हो।

हाल अहिले विश्वमा विभिन्न रुपमा यसको ठुलो चर्चा भईरहेको छ। ठुला ठुला नेता, अभिनेता देखि अभियन्ता र खेलाडीहरुले जर्जको समर्थन गर्दै उनको माग गर्दै आएका छन्। उनकै समर्थनमा कालो पट्टिको अभियान पनि व्यापक रुपमा चलेको छ। यसरि नै यस्ता विषयहरुलाई छिटो भन्दा छिटो न्याय दिलाउनको निम्ति दवाव दिनु ठिक हो तर खालि रंगभेद मात्र नभई एउटा व्यक्तिको मानवाधिकार र मृत्युको  उठ्नु जरुरि छ। रङ्गभेदको पनि समर्थन गर्न कदापि मिल्दैन तर यस मुद्दामा भने विशेष रुपमा रङ्गभेदको कुरालाई भन्दा पी एक मृतक र मृतकको परिवारले पाउनु पर्ने न्यायको लागि आवाज उठ्नु पर्छ। उनले २० डलरको नक्कली मुद्रासंग कुनै किसिमको अपराधिक कार्य गरेका हुन् या होइनन भन्ने कुराको अनुसन्धान पछि थाहा हुने कुरा हो तर हिरासतमा लिने क्रममा प्रहरीको वेमत्लविका कारण कुनै पनि व्यक्तिको ज्यान जानु कदापी स्वीकार्य हुँदैन।

अन्त:त अमेरिकाको यस घटनाले उठाएको प्रश्न गम्भीर प्रश्न हो तर यस मुद्दालाई रंगभेदको कुरालाई ल्याई जोडेर विरोध गर्नु यसमा उचित देखिंदैन। रंगभेद जुन एउटा सामाजिक समस्या छ, त्यस्तो अपराधिक कार्य कहिल्यै पनि क्षमा योग्य रहँदैन। रंगभेद कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिलाई गर्न हुँदैन।  रंगभेद मात्र नभई जुनै किसिमको भेदभाव समाजमा गर्न हुँदैन। त्यस्तो गर्ने व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनु पर्छ। तसर्थ यस घटनामा भने हामीहरुले रङ्गभेदलै जोडेर विरोध गर्ने भन्दा पनि रर्ज र उनको परिवारको न्याय प्राप्तिको निम्ति लड्न जरुरि छ। यस घटनाले काला वर्णका व्यक्तिको हकलाई मात्र नभई सिंगो अमेरिकी राष्ट्रका नागरिकहरु र मानवाधिकारको विषयलाई उठाएको कुरा हो। यो घटना अहिले अमेरिकामा घट्यो, भोलिका दिनमा सोहि घटना अन्य मुलुकमा पनि घटन सक्छ। तसर्थ यस्ता घटनाहरु घट्न बाट रोक्न हरेक मुलुकले आफ्ना प्रहरी र अनुसन्धानकर्मीहरुलाई उचित तालिम दिन जरुरि छ। पक्राउ गर्दा पनि उचित विधिहरुको ज्ञान प्राप्त व्यक्तिहरुलाई मात्र पठाउनु पर्ने हुन्छ। सो गरेमा मात्र यस्ता किसिमका घटना फेरी दोहोरिन बाट बच्न सकिन्छ। अन्तमा अमेरिकामा यस मुद्दाले सल्काएको आगोलाई चाँडै नै न्यायिक प्रकृयाबाट समाधान हुन जरुरि छ र यस आगोलाई सधा-सधाको निम्ति अन्त्य गर्न निकै महत्वपूर्ण छ।