[ Literature ]

बिडम्बना गुरु……

बिनोद खत्री “मिलन”

बि.ए.एल.एल.बि चौथो वर्ष

सादा जिवन उच्च सोचको विचार छर्ने गुरु
निस्वार्थ मष्तिष्कमा ज्ञान भर्ने गुरु
न त पैसाका लागि कुदे न त सम्मानका लागि जुधे
बिध्या अघि नतमस्तक चरणमा पर्ने गुरु ।।

जिवन उज्यालो बनाउने गुरुकै मुहार अँध्यारो देख्दै छु म
करोडको मालिक बनाउने गुरु हजार नभएर बजारमा भेट्दै छु म
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर आज मिथक भैसक्यो
थाहा छैन आज कस्तो तितो सत्य लेख्दै छु म।।

हात समाएर बिस्तारै बिस्तारै कखरा सिकाउने गुरु
जिन्दगिमा हार खाएर लड्दा कयौँ पटक उठाउने गुरु
आज आँफै पुर्पुरो समातेर लडिरहेको देखिरहेछु
भिँडहरुको बिचमा आफ्नो अस्तित्व खोज्न पठाउने गुरु।।
बिडम्बना (२)……

डाक्टरि पढाउने गुरु औषधी नपाएर थलिएका छन्
कानुन पढाउने गुरु न्याय नपाएर रुमलिइका छन्
सयौँलाइ इन्जिनियर बनाएका गुरु आफ्नै विचित्र चित्रभित्र झलिएका छन्
नामि महालेखा जन्माएका गुरु साहु थेग्न नसकेर हल्लिएका छन् ।।

सायद गेडि नभएर सबै टेढिएछन् क्यार गुरु नियति सम्झेर रोइरहेछन्
पैसा नकमाएर,महल नबनाएर पाप गरेछन् क्यार आँशुले पापहरु धोइरहेछन्
तर गुरुले स्वाभिमान कमाएका छन्,मनमा शान्ति जमाएका छन्
त्यसैले आज पनि गुरु गर्वका साथ सत्य र निष्ठाको अग्नि छोइरहेछन् ।।।