
प्रतीक्षा यादव
लैंगिक अनुपातको सूचकांकमा नेपाल विश्वमै सबैभन्दा अघि छ । छोरा र छोरी सामान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठ्ने कार्य भइरहेको छ । गर्भ जाँच गराउने र छोरी देखिएपछि गर्भपतन गराउने संख्या बढ्दै गएको छ । अनिइच्छुक गर्भको नाममा छोरीलाई भ्रुण अवस्थामा मार्न सुरक्षित गर्भपतन गराउनेमा दम्पति नै छ । अविवाहित तथा परपुरुषसँगको सम्बन्धमा बसेको गर्भ ‘पतन’ गर्नेको संख्या पनि कम छैन । यीनै विषय समेटेर हाल कानून संकायमा अध्ययनरत प्रतीक्षा यादवले गर्भमा रहेको बच्चाको भाव कविता मार्फत् व्यक्त गरेकी छिन्,
प्रस्तुत छ
आमा, तिम्रो गर्भको हुँ म सन्तान,
तिम्रो र बाबा दुबैका त अंश हुँ नी आमा, होइन र ?
तिमीदेखि नै त मेरो जीवनको सुरुवात हुन्छ, (२)
तिमी नै त मेरो जन्मको कारण हौ आमा ।
नमार मलाई, म यो संसारमा आउनु अघि,
नमार आमा मलाई, यो संसार नदेखाई,
मेरो अस्तित्व तिमीबाट नै त सुरु हुन्छ आमा,
नगर मेरो भ्रुण हत्या, म बाँच्न चाहन्छु आमा ।
यी मेरा कलिला हातका औंलाहरुले तिमीलाई समाउने बचन दिन्छु आमा, (२)
यी मेरा कलिला खुट्टाहरुले तिम्रो गर्भ भित्र हुँदा म भएको महसुस गराउने बचन दिन्छु आमा,
बाबा, तपाईको प्यारो सन्तान हुने बचन दिन्छु म, (२)
नमार मलाई, हत्या नगरिदेउ मेरो,
संसारमा आई, संसारमा बाँच्न चाहन्छु म ।
बल्ल त म तिम्रो गर्भमा बन्न थालेकी छु आमा, (२)
बल्ल त मेरा पाखुरा, खुट्टा र औंलाहरु बन्दैछन् आमा,
बल्ल त मेरा आँखा बन्न थालेका छन्, यी आँखा खोल्न देऊ आमा,
यी आँखाले संसार हेर्ने ठूलो रहर छ आमा,
म आउनु अघि मलाई यो संसारबाट नमेटी देऊ आमा ।
तिम्रो नशासँग जुडी सकेकी छु आमा,
मेरो बाँच्ने रहरलाई नमारी देऊ आमा,
मेरो भ्रुण हत्या नगरी देऊ आमा,
मलाई बाँच्न देऊ, तिम्रो काँखमा खेल्न देऊ आमा । (२)
के मेरो भ्रुण हत्या भएपछि आफ्ना हातमा मेरा अपूर्ण शरीरलाई लिने क्षमता राख्छौ आमा(२)
के तिमीले मलाई आफ्नो गर्भमा हुर्काउनु तिम्रो रहर होइन, कर बनेको हो र आमा ?
तिम्रो गर्भमा हुर्केकै कारणले मलाई तिम्रो दोषी नबनाउ, (२) मलाई तिम्रो दोषी नठहराउ आमा,
मलाई अंगाली आफ्नो काँखमा बाँधेर राखी, यो संसार मलाई पनि देखाई देउन आमा,
आखिर म तिम्रो र बाबाकै त अंश हुँ, होइन र आमा ? (२)
