[ Literature ]

पिता र सम्झौता

प्रतीक्षा यादव

असलमा भने बाबा र आमा दुबैका माया एकै नासका हुन्छन् । केवल देखाउने तरिका फरक हुनसक्छ ।

बाबाका विषयमा धेरै नै कम कविताहरु लेखिएका होलान् । तर, वहाँको बलिदान बारे हामीले बुझ्नु निकै आवश्यक हुन्छ । उहाँ हाम्रो अगाडी एकदम बलियो भएर वा भनौं कडा भएर प्रस्तुत भएता पनि वहाँको मनको कोमलता र वहाँको माया हामीले बुझ्नु आवश्यक छ । वहाँले कहिले काहिँ सायद खस्रो बोलि पनि बोल्नुहुन्छ । जबकी, आमाको सुसिलता र मायालु बोलि सुनी हामीलाई यो भान हुनसक्छ कि, ‘मलाई त आमाले मात्रै माया गर्नुहुन्छ, बाबाले त माया नै गर्नुहुन्न ।’ तर, असलमा भने बाबा र आमा दुबैका माया एकै नासका हुन्छन् । केवल देखाउने तरिका फरक हुनसक्छ । बाबा अर्थात् पिता र उनका सम्झौता बारे केहि थोरै कुरा समेटेर बाबाका अपार प्रेमलाई म कविता मार्फत् दर्शाउने प्रयास गरेकी छु ।

प्रस्तुत छ

जसले, आफू भोकै बसेर पनि,
आफ्नो सन्तानलाई भर पेट खुवाउँछन्, 
ती खाली पेटसँग गरेको सम्झौता हुन् पिता ।

जो, आफूलाई ठूलै समस्या आइपर्दा पनि,
निडर भएर उभिन्छन्,
तर, आफ्ना सन्तानले हिड्न सिक्दा लडे पनि, आफ्नो अनुहार खुमचाउँछन्,
त्यो डर र चिन्तासँग गरेको सम्झौता हुन् पिता ।

जो आफू झोपड पटीमा बसेर पनि,
आफ्ना सन्तानका निम्ति,
उसलाई भविष्यमा महल बनाउन सक्ने क्षमता विकास गर्छन्,
ती विश्वाससँग गरेको सम्झौता हुन् पिता ।

जसले आफ्ना सन्तानका भविष्यको निम्ति, 
वर्तमानमा आफ्नो रगत र पसिना दुबै एक गरि, उसैको निम्ति कमाउँछन्,
त्यो संघर्षको बाटोसँग गरेको सम्झौता हुन् पिता ।

आफूले च्यातिएको लुगा सिलाएरै लगाए पनि,
आफ्ना सन्तानका निम्ति नयाँ लुगा किनी दिने,
त्यो सियो र धागोसँग गरेको सम्झौता हुन् पिता ।

आफ्नो सन्तानको सपनाका लक्ष्य पूर्तिका निम्ति (२)
आफ्नो सपना र रहरहरुलाई पनि सपना नै रहन दिने,
त्यो बलिदानसँग गरेको सम्झौता हुन् पिता ।

सन्तानका झुट्टा कुराहरु जान्दा जान्दै पनि, (२)
त्यस झुठमा पनि सत्यता खोज्ने,
त्यो मुर्खतासँग गरेको सम्झौता हुन् पिता ।

आफ्नो खल्ती खाली हुँदा पनि,
सन्तानका निम्ति कहिल्यै पनि हातमा पैसा नभएको महसुस नगराउने,
त्यो झुठसँग गरेको सम्झौता हुन् पिता ।

जसले, आफ्ना सन्तान सदैब खुशी रहोस् भनेर,
आफूलाई परेको दुःख पिडा नि बिर्सिन्छन्,
र, उसैका खुशीमा मुस्कुराउँछन्,
त्यो झुटो अभिनयसँग गरेको सम्झौता हुन् पिता ।

जसले आफ्ना सन्तानलाई कराउँछन्, हपकाउँछन्, अनि तर्साउछन्,
तर, नदेखिने गरि मायाको सागर बगाउँछन्,
ती अदृश्य स्नेहसँग गरेको सम्झौता हुन् पिता । 

आफूलाई सयौं घाउ चोट लाग्दा पनि अइया नगर्ने,
तर, सन्तानका शरीरबाट एक थोपा रगत बग्दा पनि,
आफ्नै मृत्यु होस् भान ठान्ने,
त्यो कालसँग गरेको सम्झौता हुन् पिता । (२)