२२औँ वार्षिकोत्सव तथा क्याम्पसका संस्थापक अध्यक्ष स्व. प्रा. माधवप्रसाद आचार्यको विशेष स्मृति कार्यक्रम सम्पन्न
चैत्र १३, २०७८ काठमाडौँ, नेपालः
गुणात्मक कानुनी शिक्षामा समर्पित यस काठमाडौँ स्कुल अफ लको २२औँ वार्षिकोत्सव तथा क्याम्पसका संस्थापक अध्यक्ष स्व. प्रा. माधवप्रसाद आचार्यको विशेष स्मृति कार्यक्रम भव्य र सभ्य रूपमा आज सम्पन्न गरिएको छ । वार्षिकोत्सव विशेष तथा स्मृति विशेष गरी सो कार्यक्रमलाई २ चरणमा विभाजन गरिएको थियो ।
कार्यक्रमको पहिलो चरण भृकुटीमण्डप काठमाडौँस्थित राष्ट्रिय सभागृहमा बिहानीको ८ बजे प्रारम्भ भई ११ बजे सम्पन्न गरियो । सो कार्यक्रमका प्रमुख अतिथि नेपालका सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री दीपककुमार कार्की रहनुभएको थियो भने कार्यक्रमका विशेष अतिथिहरू क्रमशः वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, वरिष्ठ नायव महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको कानुन सङ्कायका डिन श्री अनिलकुमार पोखरेल रहनुभएको थियो । उक्त कार्यक्रममा अतिथिका रूपमा स्वर्गीय प्रा. माधवप्रसाद आचार्यज्यूका परिवारजन, नेपाली सेनाकी महासेनानी रक्षा के.सी., कानुनी क्षेत्रका वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूका साथसाथै यस काठमाडौँ स्कुल अफ लका संस्थापक परिषद् सदस्यहरू, शिक्षक तथा कर्मचारीहरू, अभिभावकहरू, भूतपूर्व विद्यार्थीहरू तथा कानुनका विद्यार्थीको उपस्थिति रहेको थियो ।
पहिलो चरणमा आयोजित कार्यक्रममा विभिन्न महत्वपूर्ण पुरस्कारहरू वितरण गरिएको थियो । काठमाडौँ स्कुल अफ लले प्रदान गर्ने "Professional Achievement KSL Award, 2022" वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीज्यूलाई सम्मान स्वरूप प्रदान गरिएको थियो । त्यस्तै, काठमाडौँ स्कुल अफ लबाट शिक्षा प्राप्त गरी विभिन्न क्षेत्रमा देशको सेवामा समर्पित विद्यार्थीलाई सम्मान गरिने "KSL Alumni Award for Professional Achievement, 2022" के.एस.एल. का पूर्व विद्यार्थी नेपाली सेनाकी कर्णेल श्री रक्षा के.सी. लाई सम्मान स्वरूप प्रदान गरिएको थियो । हरेक वर्ष काठमाडौँ स्कुल अफ लमा पढ्ने विद्यार्थीहरूमध्ये सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई सम्मान र हौसला स्वरूप प्रदान गरिने "KSL Outstanding Performance Award, 2022", पुरस्कार श्री रक्षा खनाललाई दिइएको थियो ।
कार्यक्रमको दोस्रो चरण काठमाडौँ स्कुल अफ ल परिसरमा दिउसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको थियो । सो चरणको कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति श्री यादवराज कोइराला, अतिथिहरूमा स्व.प्रा. माधवप्रसाद आचार्यकी धर्मपत्नी श्रीमती प्रमिला आचार्य र उहाँहरूका सुपुत्र श्री दिव्य आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त श्री किशोर सिलवाललगायत वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरू र काठमाडौँ स्कुल अफ लका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
उक्त दोस्रो चरणको कार्यक्रममा वर्षभरि विद्यार्थीहरूले प्राप्त गरेका शैक्षिक सफलताहरूका लागि विभिन्न पुरस्कारहरू वितरण गरिएको थियो । नेपाल बार काउन्सिल तथा लोकसेवा आयोगअन्तर्गतको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि यस चरणमा पुरस्कृत गरिएको थियो । साथै निकै लामो समयदेखि संस्थालाई सेवा दिइरहेका यस संस्थाका कर्मचारीलाई पनि विभिन्न पुरस्कारद्वारा सम्मानित गरिएको थियो । जसमा यस संस्थाको स्थापनाकालदेखि हाल वरिष्ठ प्रशासकीय अधिकृतको रूपमा अनवरत सेवारत श्री हरिशरण खत्रीलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो भने यसै संस्थामा विगत लामो समयदेखि कार्यरत सवारी चालक श्री कान्छा तामाङलाई वर्षको उत्कृष्ट कर्मचारीको प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो । त्यसैगरी यस संस्थाको संरचना निर्माणमा योगदान पु¥याउनुभएका श्री प्रशान्त चौलागाईलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
विद्यार्थीहरूमा पढ्ने हौसला सधैँ अभिवृद्धि गराइरहन अतुलनीय योगदान पुर्याउनुभई हामी सबैलाई यादका न्याना गलबन्दीहरू बुनेर र गुणस्तरीय शिक्षाको नासो छोडेर जानुभएका माधव गुरुको ऋण चुकाउने उन्नत प्रयास गर्ने अठोटका साथ काठमाडौँ स्कुल अफ लको २२ औँ वार्षिकोत्सव र हाम्रा आदरणीय गुरुको विशेष स्मृति कार्यक्रम सम्पन्न गरेका छौँ ।